चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा माओवादीका जिल्ला र महानगर सहइन्चार्ज एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र चितवनका जिल्ला सहइन्चार्ज यम बहादुर परियार इन्द्रजित एमाले प्रवेश गरेका हुन् । लामो समय माओवादीको चितवन जिल्ला नेतृत्व गरेका परियार आज विहिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रम मार्फत एमाले प्रवेश गरेका छन् । परियार एमाले र माओवादी एकीकरण भएपछि बनेको नेकपाको पनि चितवन जिल्ला संयोजक समेत भएका थिए । परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका उनि एमाले प्रवेश गरेपछि प्रचण्डलाई समेत धक्का पुगेको छ । निर्वाचन नजिकिदै गरेको समयमा परियारको एमाले प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनिसँगै माओवादी केन्द्रका भरतपुर महानगर कमिटी सहइन्चार्ज युवा नेता अन्जन तिमिल्सिना पनि एमाले प्रवेश गरेका छन् । उनिहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडीबाटै राजनीति गरेका परियारको एमाले प्रवेशलाई सो पार्टीका नेताहरुले ठूलो उपलब्धिका रुपमा व्याख्या गरेका छन् । सोही कार्यक्रममा चितवनकै कालिका नगरपालिका कमिटीका उपाध्यक्ष दिनेश विक पनि एमाले प्रवेश गरेका छन् ।
चितवनबाट ठूलो संख्यामा प्रभावशाली जिल्ला नेताहरु एमालेमा प्रवेश गरेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए । न्यौपानेलाई एमालेले प्रचण्डविरुद्ध उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको छ । परियारलगायतका नेताहरुको प्रवेशलाई एमाले नेताहरुले टे«लरमात्र भन्दै चुनावअघि थप धक्का दिइने दाबी गरेका छन् ।
एमाले प्रवेश गर्दै परियारले आफू चौथो महाधिवेशनदेखि विभिन्न कालखण्डमा माओवादी जनयुद्धमा होमिएको भन्दै कुनै न कुनै रुपमा सधैं महत्वपूर्ण भूमिकामा रहेर काम गरेको बताए । चितवनबाट झण्डै ५० जना माओवादी केन्द्रका नेता कार्यकर्ता एमाले प्रवेश गरेको जनाइएको छ । पार्टी प्रवेश कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, केन्द्रिय सदस्य देवी ज्ञवाली, जेएन थपलिया,जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगायतको सहभागीता रहेको थियो ।



















उज्यालो खबर









