×

काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् ।चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)  मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियताका चान्सु सभामुख अग्नि सापकोटाको औपचारिक निमन्त्रणामा काठमाडौं आउन लागेका हुन् ।भ्रमणको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सापकोटा लगायतसँग भेटवार्ता गर्नेछन् । प्रमुख दलका शीर्ष नेताहरूसँग पनि भेट हुने बताइएको छ ।

गत २५ चैतमा भएको भर्चुअल संवादका क्रममा सापकोटाले चिनियाँ जनकंग्रेस अध्यक्ष चान्सुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका थिए । त्यसको केही समयपछि चैत महिनामा विदेशमन्त्री वाङ यी र असार अन्तिम साता सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल भ्रमण गरेका थिए ।चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु नेपाल भ्रमणमा आउने राष्ट्रपति सी जिनपिङ पछिका दोस्रो ठूलो तहका नेता हुन् । सीले २०७६ सालको २५ देखि २७ असोजसम्म राजकीय भ्रमण गरेका थिए । त्यसपछि चीनबाट विभिन्न तहका भ्रमणहरू निरन्तर भइरहेका छन् ।

आगामी १६ अक्टोबरमा सीपीसीको २०औं राष्ट्रिय महाधिवेशन गर्ने तयारी चलिरहेका बेला अहिले चान्सु नेपाल भ्रमणमा आउन लागेका हुन् । उनको भ्रमणलाई चीनले विश्व शक्ति राष्ट्र बन्ने होडका बीच रणनीतिक भू–अवस्थितिमा रहेको छिमेकी मुलुकका विषयमा धारणा बुझ्ने अवसरका रूपमा समेत प्रयोग गर्न खोजिएको देखिन्छ ।

पछिल्लो समयमा नेपालमा शक्ति राष्ट्रहरूको चासोका साथ बाक्लो आवतजावत भइरहेको छ । विशेष गरी अमेरिका र चीनबाट एकपछि अर्को भ्रमण नेपालमा भइरहेका छन् । यद्यपि, राजनीतिक, कूटनीतिक र सैन्य क्षेत्रसँग सम्बन्धित भ्रमणहरू बाक्लै हुने गरे पनि संसदीय प्रतिनिधित्व गरेर कमै आवतजावत हुन्थ्यो । तर अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका विषयमा यहाँको संसदको भूमिका समेत बढ्न थालेसँगै संसदीय प्रतिनिधित्व गर्ने खालका भ्रमणहरू समेत बढ्न थालेका छन् ।

विशेष गरी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  र स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)  को विषयलाई लिएर सदनमा चर्को बहस र विवाद भएपछि भूराजनीतिक विषयमा सदन पनि प्रत्यक्ष जोडिन थालेको छ । यसले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा सदनको भूमिका बढेको र शक्ति राष्ट्रहरूले पनि यहाँको सदनमा चासो बढाइरहेको विश्लेषण भइरहेको छ । यसै क्रममा चीनको नीति निर्माण गर्ने महत्वपूर्ण थलो राष्ट्रिय जनकंग्रेसका अध्यक्ष चान्सु पनि सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आउने तय भएको हो ।विश्व राजनीतिमा प्रतिस्पर्धा तीव्र बनिरहँदा नेपालमा एकपछि अर्को गरी शक्ति राष्ट्रहरूबाट बाक्लो आवतजावत हुनुलाई विशेष चासोका साथ हेर्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया