
नवलपुर । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नवलपुर क्षेत्र नं १ बाट विक्रम पाण्डेको एकल नाम सिफारिस गरेको छ । शनिबार राप्रपा नवलपुर पदाधिकारीहरु बीचको बैठकले आउँदो निर्वाचनका लागि प्रतिनिधि सभा १ बाट विक्रम पाण्डे र २ बाट विष्णु प्रसाद अधिकारीको नाम सिफारिस गरेको छ ।
यसैगरि प्रत्यक्ष तर्फ प्रदेश सभा १ “क” मा सन्तोष थापा, १ “ख” बाट निलकण्ठ काफ्ले, केशव चौलागाई, शेरबहादुर केसीको नाम सिफारिस गरेको छ । यस्तै प्रदेश सभा २ को “क”बाट प्रत्यक्ष तर्फ लाल प्रसाद बराल, २ “ख” को प्रत्यक्ष तर्फ भोजबहादुर थापा, खुमराज राना र कृष्ण प्रसाद तिवारीको नाम सिफारिस गरेको हो ।
त्यसैगरि प्रतिनिधि सभा क्षेत्र नं १ समानुपातिक तर्फ निलकण्ठ काफ्ले, प्रा।डा। मोहनीलाल भुसाल, छत्रराज बगाले, चन्द्रदत्त जैसी र महिलातर्फ विन्दु अधिकारी पहाडी र सिता बस्यालको नाम सिफारिस भएको हो । प्रतिनिधी सभा क्षेत्र नं २ समानुपातिक तर्फ नुन बहादुर आले, दल बहादुर केसी, शालिकराम उपाध्याय र ठाकुर प्रसाद रेग्मीको नाम सिफारिस भएको राप्रपा श्रोतले जनाएको छ ।
यस अघि चितवनमा प्रचण्ड सँग निर्वाचन लडने बताईरहेका पाण्डेको नाम नवलपुरबाट समेत सिफारिस भएको हो । नवलपुर क्षेत्र नं १ बाट कांग्रेसबाट डा। शशांक कोइरालाले नै चुनाव लडने पक्कापक्की रहेको छ ।एमाले र राप्रपा बिच चुनावी तालमेल हुने कुरा चलिरहेको अवस्थामा पाण्डेको सिफारिसलाई नवलपुरमा अर्थ पुर्ण रुपमा हेरिएको छ । एमालेका केन्द्रिय सदस्य समेत रहेका तिलक महत नवलपुर क्षेत्र नं २ बाट एकल सिफारिस भएका छन । यो अवस्था राप्रपालाई क्षेत्र नं १ दिएर क्षेत्र नं २ एमालेले राख्ने सम्भावना रहेको राप्रपा स्रोतले बतायो ।
अघिल्लो पटक पनि नवलपुर एक बाट प्रत्यक्षमा सिफारिस भएका पाण्डे सिफारिसमा परे पनि निर्वाचन भने चितवनबाट नै लडेका थिए । यसपटक पनि त्यही क्षेत्रबाट सिफारिस भएका पाण्डेलाई एमालेले सहजै छाडने अवस्था भने छैन ।एमालेबाट नवलपुर एकबाट केन्द्रिय सदस्यद्वय कृष्ण पौडेल र रविन्द्र अधिकारी सहित नारायण प्रसाद तिमिल्सिनाको नाम सिफारिस भएको छ । यो क्षेत्रमा एमाले नेता कृष्ण पौडेलकोबलियो दाबी रहेको र टिकट उनैले पाउने एमाले नेताहरु बताउछ्न ।