नवलपुर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आगामी निर्वाचनमा नवलपुरबाटै चुनाव लड्ने बताएका छन्। संगठनकै राजनीति गर्ने उनको भनाइ छ। ‘म संगठनकै राजनीति गर्ने भनेर वडादेखि प्रतिनिधि भएर पार्टीको केन्द्रीय समितिमा आइसकेँ। म ब्याक डोरबाट होइन, फ्रन्ट डोरकै राजनीतिमा छु,’ उनले भने।

उनी कांग्रेसबाट समानुपातिकतर्फ सांसद पनि छन्। अब हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नवलपुरबाट प्रत्यक्षतर्फ चुनाव लड्ने बताउदै नवलपुर २ बाट चुनाव जितेर देखाउने उनकाे तयारी छ ।  नवलपुरको क्षेत्र नम्बर २ मा कांग्रेसले जितेको छैन, म चुनौती सामना गर्न तयार छु,’ चौधरीले भने। निर्वाचन जितेर यस क्षेत्रकाे विकासका लागि याेगदान दिने भन्दै चौधरीले नवलपुर १ र २ जुनसुकै क्षेत्रबाट टिकट दिएपनि जनताकाे मत र मन दुवै जित्ने बताएका छन् ।

‘नवलपुरका सबै स्थानीय तह र वडा-वडासम्म पुगेर स्थानीय बासिन्दाहरूसँग कुराकानी गरेको छु। त्यहाँको सुख, दुस्खबारे बुझ्ने प्रयास गरेको छु। महाधिवेशनदेखि नै नवलपुरमा धेरै समय दिएको हुँ,’ उनले भने, ‘प्रत्यक्षतर्फ चुनाव लड्ने मनस्थिति बनाएर गाउँ-गाउँ गएको छु। तर कहाँ कसलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गर्छ, पार्टीको निर्णय मान्छु।’

चौधरीले स्वतन्त्रहरू पनि स्थानीय चुनाव जितिरहेको प्रसंग निकाल्दै कांग्रेसले उम्मेदवार चयन गर्दा यसबाट पाठ लिन सक्नुपर्नेमा जोड दिए। फरक क्षेत्रका व्यक्ति राजनीतिमा आउन चाहेमा उसको क्षमता हेरेर पार्टीले स्थान दिनुपर्ने पनि चौधरी बताउँछन्। नेपाल मात्र नभएर विश्वमै धनी ब्यक्तिहरुकाे सूचिमा रहेका विनाेद चौधरी जस्ता ब्यक्ति निर्वाचनमा जितेर आएकाे खण्डमा यस क्षेत्रकाे विकासका लागि महत्वपुर्ण याेगदान हुनसक्ने नवलपुरबासीकाे तर्क छ ।

तपाईको प्रतिक्रिया