×

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका छन् ।अध्यक्ष नेपालले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भए पनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ, हुन्न भन्ने प्रश्न उठ्ने गरेको स्वीकार गरे ।

पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढन चाहिरहेको उल्लेख गरे ।अध्यक्ष नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउने गरी संगठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । त्यसका लागि पार्टीको हैसियत र सामर्थ्य वृद्धिका लागि सिंगो पार्टी पंक्ति परिचालन हुनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले चुनावलाई लक्षित गरेर बस्तीबस्तीमा पुगेर संगठन निर्माण र परिचालनको काममा खटिन पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।उनले भने, ‘अब हामीले चुनावमा लाग्नुछ । चुनावका लागि नै संगठन बनाउनु छ । संगठन परिचालन गर्नुपर्नेछ । अब काठमाडौं र सदरमुकाममा बस्ने होइन । अब बस्तीबस्तीमा जाने हो । त्यसका निम्ति को उठ्यो रु ठूलो कुरा होइन ।’उनले नेपालले दलित समुदायमाथि अपहेलना गर्नेहरुलाई पार्टीको सदस्यता नदिने चेतावनी समेत दिए ।

तपाईको प्रतिक्रिया