चितवन । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिपस्पर्धा गर्न एमालेले चितवन-३ मा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई अघि सारेको छ । उनी सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

तत्कालीन नेकपा हुँदा भरतपुर महानगरपालिकाको अध्यक्ष रहेका न्यौपाने २०७८ माघमा एमाले चितवनको अध्यक्ष बनेका थिए । माडी नगरपालिकाका बासिन्दा रहेका न्यौपाने विद्यार्थी राजनीतिबाट आएका हुन् । सत्ता गठवन्धनका पाँच दलकातर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन निर्वाचन क्षेत्र-३ बाट उठ्ने तयारी गरिरहँदा न्यौपानेसँग सोधिएका ५ प्रश्न :

तपाई माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लड्ने तयारीमा हुनुहुन्छ, चर्चाका लागि हो कि जितको आधार पनि देख्नु भा’छ ?

म एमाले चितवनको अध्यक्ष हुँ । म त्यो क्षेत्रको भूगोल बुझेको मान्छे पनि हुँ, यहीँबाट राजनीति गरेको छु । पार्टीको क्षेत्रिय कमिटीले मलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । प्रचण्डसँग चुनाव लड्नु मेरो लागि कुनै ठूलो कुरा हैन ।

यो भूगोलमा एमाले सबैभन्दा ठूलो दल हो । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत सबैभन्दा बढि एमालेको छ । हाम्रो सांगठिनक जनधार छ । २०७४ सालमा प्रचण्डलाई हामीले चुनाव जिताइदिएको हो । उनको आफ्नो तागतमा चुनाव जित्ने आधार यहाँ छैन ।

राष्ट्रिय राजनीतिको केन्द्रीय पात्र प्रचण्डसँग चुनाव लडेर जित्छु भन्ने लाग्छ ?

मलाई के जानकारी छ भने उहाँले चुनावमा सबै हत्कण्डा अपनाउनुहुन्छ । हामी त्यसको जनस्तरबाट नै प्रतिरोध गछौं । हामीले महानगरको चुनावमा देख्यौ उहाँले छोरी जिताउन के-के सम्म गर्नुभएन । पैसाले जनताको मत र चेतना किन्ने सपना देख्नुहुन्छ । त्यो सम्भव छैन अब ।

चितवन-३ को विकासमा प्रचण्डले योगदान गरेको छु भन्नु भाछ  त्यो सत्य हैन ?

तपाईलाई एउटा जानकारी गराऔं माडीको बाँदरमुँढे बम काण्ड मच्चाएर ३९ जनाको सामूहिक चिहान बनाउने कामको उहाँको पाटीले गर्‍यो । म त्यो घटनाको पहिलो उद्धारकर्ता हो । उहाँ हिंसाका पूजारी हो, म जनता बचाउने उद्धारकर्मी हुँ । जहाँसम्म विकासको कुरा छ ।

उहाँले अघिल्लो चुनावमा माडी जान आकाशे पुल हाल्छु भन्नुभएको थियो खै हाल्नु भयो रु के गर्नुभाछ उहाँले माडीको विकास लागि कुनै एउटा काम देखाउनुस् । दुई पटक प्रधानमन्त्री हुँदा माडीका लागि खै के काम भयो ?

केपी ओली नेतृत्वको सरकार हुँदा माडीमा ११ वटा पुल र दुई लेनको सडक पिच भाछ । माडीका राममन्दिर बनाउने भनेर काम अगाडि बढाउँदा बिरोध गर्ने उहाँ हैन । पश्चिम चितवनको गोलाघाटमा पुल हाल्छु भन्नुभाथ्यो हाल्नुभयो ?

मेघौली विमानस्थल कालोपत्रे गर्छु भन्नुभा’थ्यो गर्नुभयो रु उहाँ अहिले तमासा देखाएर हिड्नु भाछ । चुनाव उहाँलाई लागेको देख्छु । जनताले उहाँको यो तमासा ५ बर्षसम्म हेरिसकेका छन् ।

चितवन-३ मा राप्रपासँग तालमेल गर्ने चर्चा पनि छ, विक्रम पाण्डेलाई यहाँहरुले सर्मथन गर्ने हो ?

यो पटक यहाँका जनता सूर्यमा मतदान गर्न चाहन्छन् । राप्रपासँग एकता गर्ने कुरा त्यति भरपर्दो छैन । राप्रपालाई हामीले भन्दा पनि हामीलाई राप्रपाले सहयोग गर्नुपर्छ प्रचण्डलाई हराउनका लागि ।

कांग्रेससँगको गठवन्धनमा रहेका प्रचण्डलाई हराउने सपना देख्नुहुन्छ ?

कांग्रेसले यसपटक प्रचण्डलाई बोक्छ जस्तो लाग्दैन । कांग्रेसलाई त चितवनमा माओवादीले प्रयोग मात्रै गरेको छ । कांग्रेसलाई काखमा राखेर माओवादीले कमजोर बनाएको कुरा उहाँहरुले भुल्न हुँदैन । सकभर कांग्रेसको आफ्नै उम्मेदवार होस् नभए पनि प्रचण्डलाई हराउन मलाई सर्मथन गर्नुपर्छ भन्ने लाग्छ ।

प्रचण्ड यो देशका अस्थिरताका नायक हुन् । यो देशको राजनीतिक स्थायित्व र विकासका लागि प्रचण्डलाई हराउनुपर्छ । त्यसको नेतृत्व मैले गदैछु । प्रचण्डले हार्दा मात्रै देशमा स्थिरता आउँछ । आज कांग्रेसलाई प्रयोग गरेर चुनाव जित्ने र पछि कांग्रेसलाई धोका दिने काम उहाँबाट हुन्छ । यसमा कांग्रेसजन ढुक्क हुनुभए हुन्छ ।

अनलाइन खबरबाट

तपाईको प्रतिक्रिया