
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले रन्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित गरेको बताएका छन् ।आफूले यो मुद्दामा विवेक प्रयोग गरेको भन्दै उनले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताए ।‘त्यसमा गल्ती भयो विवेक प्रयोग गर्दा भने जनता समक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित भएको छ,’ महाअभियोग सिफारिस समितिमा आज तेस्रो दिनको बयानमा जबराले भने ।
श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेका कोइरालालाई तोकिएको २० वर्ष सजायँमा जबराले ८ वर्षमा झारेका थिए । यसमा न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार भएकाले त्यसलाई प्रयोग गरेको उनको भनाइ छ ।रन्जन कोइरालालाई कम सजाय गरियो भन्नु शतप्रतिशत गलत भएको उनी बताउँछन् । कर्तव्य ज्यान गरेको भन्ने नै सदर गरेको भन्दै उनले भने, ‘जन्मकैद मुलुकी व्यवस्था अनुसार सजायमा विवेक प्रयोग गर्ने अधिकारको प्रयोग भएको हो ।’
पारिवारिक कुरा र नाबालक छोरा भएको र बच्चाहरुलाई ख्याल गरेर २० वर्ष कैद सजाय भएकोमा ८ वर्ष ६ महिना बसिसकेको अवस्थामा दुई जना बच्चाको लागि न्यायाधीशले विवेक प्रयोग गरेको उनको भनाइ छ ।आज समिति सदस्यहरुले जबरासँग पाँच वटा प्रश्न सोधेका थिए । महाअभियोग सिफारिस समितिको अर्को बैठक आगामी २६ गते बस्ने छ ।