चितवन–नेपाल विद्यालय कर्मचारी परिषद् चितवनले आजदेखि चितवनका सामुदायिक विद्यालय एक सातासम्म बन्द गर्न निर्देशन दिएको छ । परिषद्ले नेपाल शिक्षक महासंघ तथा आबद्ध घटक संस्थाहरुलाई विज्ञप्ति मार्फत परिषद्को आन्दोलनको कार्यक्रम अन्तर्गत एक साता विद्यालय बन्द गर्न भनेको हो ।

तलबमा विभेद गरिएको भन्दै चरणवद्ध आन्दोलनमा रहेको परिषद्को निर्देशन अनुसार १२ देखि १८ गतेसम्म जिल्लाका सबै विद्यालय बन्द हुने भएको हो । परिषद्को चितवन शाखाले विज्ञप्ति जारी गर्दै देशभर नै आन्दोलनका कार्यक्रम घोषणा भएको भन्दै चितवनको सातै पालिकाका सामुदायिक विद्यालय पनि बन्द हुने जानकारी दिएको छ ।

कर्मचारीहरुले शैक्षिक योग्यता, कार्य दक्षता र क्षमता अनुसार पारिश्रमिक नपाएको भन्दै परिषद्ले आन्दोलन गरिरहेको छ । आन्दोलनको कार्यक्रम सफल पार्नका लागि आवश्यक सहयोग गरिदिन परिषद्ले विज्ञप्ति मार्फत आग्रह गरेको छ । परिषद्ले बन्द कार्यक्रमलाई सहजिकरण गरिदिन सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई पत्राचार समेत गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग शिक्षक मन्त्रालय मार्फत भएका सम्झौताहरु कार्यान्वयन गराउन पटक पटक शान्तिपूर्ण ढङ्गबाट माग गर्दा पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको भन्दै परिषद् आन्दोलित भएको हो ।

तपाईको प्रतिक्रिया