
चितवन । भरतपुरमा जन्मिने छोरीका लागि निःशूल्क छोरी जीवन बीमा कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच बिहीबार सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच सौम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा भरतपुर महानगरपालिकाको तर्फबाट प्रमुख महिला विकास अधिकृत शान्ताकुमारी पौडेल र राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गर्नुभएको हो ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल दोस्रो पटक महानगर प्रमुखमा निर्वाचित भई पदभार ग्रहण गर्दा भरतपुर महागनरपालिकामा जन्मिने छोरीका लागि निःशूल्क जीवन बीमा गर्ने निर्णय गर्नु भएको थियो ।
गत जेठ ११ गतेका दिन लागु हुने गरी १५ वर्ष अवधिका लागि बीमा कार्यक्रम सुरु गर्ने निर्णयलाई कर्यान्वन गर्न सम्झौता गरिएको हो । सरकारी स्वास्थ्य संस्थामा जन्मेका छोरीहरुले मात्र यो सेवा लिन पाउने छन् । गत जेठ ११ गतेका दिनदेखि जन्मिएका छोरीको मात्र यो कार्यक्रममा सहभागि हुन पाउने छन् ।
छोरी जीवन बीमा गर्न महानगरपालिको स्थायी बासिन्दा हुनुपर्ने छ । बीमाका लागि जन्मदर्ताको प्रमाण पत्र र फोटोसहित वडा कार्यालयमा जानुपर्ने छ । यो बीमा योजनाको बीमाङ्क रकम रु ५० हजार र बीमा अवधि १५ वर्षको हुनेछन् । बीमा कार्यक्रममा सहभागि भएका छोरीहरुले १५ वर्षमा प्रचलित बोनस दरका आधारमा एकमुष्ट रकम प्राप्त गर्नेछन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छोरीलाई प्रोत्सहान र संरक्षित गर्ने उदेश्यसहित छोरी जीवन बीमा कार्यक्रम लागू गरिएको बताउनुभयो । यो कार्यक्रमले छोरा र छोरीबीच हुने सामाजिक विभेद न्युनिकरणमा सहयोग पुग्ने प्रमुख दाहालको विश्वास छ । पदभार ग्रहणका क्रममा नगर प्रमुखले गर्नु भएको अर्को निर्णय ७ हजारसम्म निःशूल्क पिउने पानी उपलब्ध गराउने निर्णय भने कार्यन्वयन भइसकेको छ । पहिलो कार्यकालको पदभार ग्रहणमा प्रमुख दाहालले भरतपुर अस्पतालमा महिलालाई निःशूल्क ओपिडी टिकटको व्यवस्था गर्ने निर्णय गर्नुभएको थियो ।