काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले जनतामाझ क्षमा सप्ताह लिएर जानुपर्ने प्रस्ताव अघि सारेका छन्।भुसालले लिखित प्रस्ताव पेश गर्दै आफ्ना गल्ती कमजोरी लिएर जनतामाझ जानुपर्ने बताएका हुन्। वाम आन्दोलन विभाजनबारे पार्टीले गरेका गल्तीबारे श्वेतपत्र जारी गर्नुपर्ने उनको प्रस्ताव छ।भुसालले मंगलबार बसेको एमालेको स्थायी कमिटी बैठकमा उक्त प्रस्ताव राखेका हुन्।

‘हाम्रा कुन गल्ती र कमजोरीले वाम आन्दोलन विभाजित भयो भन्नेबारे श्वेतपत्रसहित हामी जनताकोमा जाँदा जनताले ठूलो समर्थन दिनेछन्,’ भुसालले भनेका छन्,‘अब हामीले गल्ती गर्दैनौं भनेर जनताका बीच गएर हामीले राजा ज्ञानेन्द्रविरूद्ध जनमतलाई एकतावद्ध पारेको कुरा यहाँ स्मरणीय छ। जनताका बीचमा जाने त्यस्तो कार्यक्रमलाई मैले क्षमा सप्ताह भनेको छु।’

पार्टीमा आफूले सुदृढीकरणको एजेण्डा उठाउँदा अनावश्यक रूपमा विवादित बनाउने प्रयत्न भएको भुसालको भनाइ छ। आफूले सुधारका कुरा उठाउँदा अनुशासन आयोगको नाममा आफूलाई विवादमा तान्ने प्रयत्न भएको उनले बताएका छन्।

‘मैले पार्टीमा उठाएका प्रश्नहरू पार्टीको भविष्यसँग सम्बन्धित छ। व्यक्तिगत रूपमा लिनुरदिनु छैन। विचारको कुरा उठाउँदा म कहाँ पर्छु मेरो भविष्य के हुन्छ कोसँग मिल्दारनमिल्दा मलाई लाभहानी हुन्छ भन्ने हिसाब-किताब मैले गरेको छैन,’ उनले प्रस्तावमा लेखेका छन्।भुसालले एमालेको नेतृत्वमा वाममोर्चा बनाउने प्रयासलाई निरन्तरता दिनुपर्ने मत राखेका छन्। एमालेको नेतृत्वमा वाममोर्चा बनेको परिस्थितिमा १ सय ५० सिट जित्न सकिने दाबी उनको छ।

‘स्थानीय तहको परिणाम हेर्दा वाममोर्चा बनेको अवस्थामा १ सय ६५ सिटमध्ये १ सय ५० सिटसम्म ल्याउन सक्ने देखिन्छ। नेपाली कांग्रेसले एमालेविरूद्ध कम्युनिष्ट शक्तिलाई नै प्रयोग गर्ने अवस्था देखिँदैछ। त्यसो भएमा निर्वाचनमा मात्रै होइन कम्युनिष्ट आन्दोलनलाई पछिसम्म क्षति पुग्नेछ,’ भुसालको प्रस्तावमा भनिएको छ।

व्यक्तिलाई केन्द्रमा राखेर नेकपा गठन भएकाले विभाजनको परिस्थिति आएको भन्दै भुसालले यस्ता कमजोरीलाई सच्याउनु पर्ने बताएका छन्। संसद विघटन र त्यसपछिका घटनाक्रमलाई संस्थागत रूपमा मूल्यांकन गरिनुपर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया