चितवन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले देशलाई सिक्किमिकरण गर्ने षड्यन्त्र भैरहेको बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक भूपु सैनिक संगठन चितवनको कार्यसमिति गठन कार्यक्रममा बोल्दै पूर्वमन्त्री पाण्डेले सिद्धान्तहिन बनेका दलहरु विदेशीको इशारामा लागेको आरोप लगाउनुभएको छ ।

“अनेक बहाना बनाएर देशलाई सिक्किमिकरण गर्न छदमवेशमा नेताहरु लागेका छन्”, उहाँले भन्नुभयो, “कमजोर भएँ, प्रधानमन्त्री बनाइदिनु, मेरा मान्छेलाई मन्त्री, सांसद बनाइदिनु भन्दै हिड्न थालेका छन् ।” उहाँले संसदीय व्यवस्थानै ठिक छैन भन्दै हिडेका नेताहरु अहिले अलमलिएको बुटवा सरह बनेको बताउनुभयो । “पूर्व जाने पश्चिमतिर, पश्चिम जाने पूर्वतिर लागेको बटुवाजस्तै भएका छन्, देशमा आमुल परिवर्तन ल्याउने भन्दै हिडेका दलहरु विदेशीको इशारामा नाचेका छन् ।”

दलहरु देशलाई लुटेर खाने साझा अभियानमा लागेको आरोप लगाउनुभयो । “अब राष्ट्रवादीहरु राष्ट्र बचाउन लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “फेरी देशलाई संकटमा लैजान खोज्नेहरुलाई रोक्नुपर्छ ।” उहाँले भूपु सैनिकहरुले सिकेका युद्धकौशल, सीपलाई राष्ट्र निर्माणमा उपयोग गरिनुपर्ने बताउनुभयो । सो अवसरमा राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकाल, उपाध्यक्ष जीवलाल पुरी लगायतले राष्ट्रवादीहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

यसैबीच, राष्ट्रिय प्रजातान्त्रिक भूपु सैनिक संगठन चितवनको अध्यक्षमा भुवनराज देवकोटा चयन हुनुभएको छ । देवकोटाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको राप्रपा भरतपुर महानगरका सचिव सुलभ सिग्देलले जानकारी दिनुभयो । उपाध्यक्षमा बलविक्रम थापा र धनबहादुर गुरुङ, सचिवमा रविन्द्र पाण्डे र हरिराम पण्डीत चयन हुनुभएको छ । कोषाध्यक्षमा वीरेन्द्र पाण्डे चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया