चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गरेका छन् ।पार्टीको प्रशिक्षण तथा विचार गोष्ठीमा सहभागी हुन चितवन आएका राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत माडीका मतदातासँग भेटघाट गरेका हुन् ।

उनले निर्वाचनको बारेमा स्पष्टरुपमा केही नबोले पनि पार्टीका नेता, कार्यकर्ताहरु तथा शुभचिन्तकहरुसँग माडी क्षेत्रका समस्याबारे छलफल गरेको राप्रपा भरतपुर महानगर सचिव सुलभ सिग्देलले जानकारी दिए । माडीका विभिन्न वडामा पुगेका उनले मतदाताहरुको पीर, मर्काहरु ध्यानपूर्वक सुनेका थिए ।

निर्वाचन घोषणा भइसकेको अवस्थामा माडी पुगेर घरघरमा मतदाताहरुसँग भेट्नुलाई चुनावी पूर्वतयारीको रुपमा राप्रपाका नेता तथा कार्यकर्ताले बुझेका छन् । राप्रपालाई अहिले एमालेले सघाउँछ वा सघाउँदैन त्यो भने हेर्न नै बाँकी छ तर पनि विक्रम पाण्डेले प्रचण्डसँग चितवन ३ बाट चुनाव लड्न गृहकार्य सुरु गरिसकेको अनुमान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया