गाेविन्द घिमिरे 

गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा रहेको शाइनिङ आवासीय माध्यामिक विद्यालयले अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ मा अवस्थित सो विद्यालयले विभिन्न अन्तर्राष्ट्रिय  स्तरको अवार्ड र गुणस्तर चिन्ह प्राप्त गर्न सफल भएको हो ।

विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद दवाडीका अनुसार विद्यालयले ब्रिटिस काउन्सीलले प्रदान गर्ने अन्तर्राष्ट्रिय स्कुल अवार्ड द सीपीडी ग्रुपको सदस्यको रुपमा मान्यता प्राप्त र आईएसओ मान्यता प्राप्त गर्न सफल भएको हो । विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सामुहिक बलबाट विभिन्न अवार्ड र गुणस्तर चिन्ह प्राप्त गर्नु विद्यालयको लागि ठूलो सफलता हो, प्राचार्य दवाडीले भन्नुभयो -“यसबाट विद्यालयको छवि अन्तर्राष्ट्रिय स्तरमै पुग्न सफल भएको छ। ”

विद्यार्थीलाई अध्यापन गराउने विधि, अतिरिक्त क्रियाकलाप  मापन र मूल्याङ्कन आधुनिक तवरको शैक्षणिक विधिलगायतका २६ वटा सूचकहरु पूरा गर्दे शाइनिङले आइएसओ ९००१ : २०१५ गुणस्तरचिह्न प्राप्त गर्न सफल भएको हो । द सीपीडी ग्रुपको सदस्यका रुपमा विद्यालयले नेपालमै पहिलोपटक मान्यता प्राप्त गर्न सफल भएको जनाएको छ ।

नेपालका १२ वटा विभिन्न संघ   संस्थालाई द सीपीडी ग्रुपको सदस्यका रुपमा मान्यता दिइएको भएपनि शिक्षा क्षेत्रमा भने शाइनिङलाई मात्रै यो अवसर प्राप्त भएकाे हाे ।  सीपीडीको लाेगोलाई अन्तर्राष्ट्रिय स्तरमै मान्यता दिइने गरेको विद्यालयका परीक्षा संयोजक कपिल लामिछानेले बताउनुभयो ।यता विद्यालयले ब्रिटिस काउन्सिलले प्रदान गर्ने आइएसए अवार्ड प्राप्त गरेको छ । आइएसए अवार्डका लागि विभिन्न परियोजना र कार्यक्रमहरु गरेर विद्यालयले अवार्ड प्राप्त गरेको हो ।

विद्यालयले विभिन्न आठवटा परियोजना सम्पन्न गर्दै आइएसए अवार्ड प्राप्त गर्न सफल भएको हो ।आजभन्दा २८ वर्ष अगाडि ४५ जना विद्यार्थीहरुबाट सुरु भएको शाइनिङको यात्रा हाल आएर फराकिलो भएको छ । नर्सरीदेखि कक्षा १२ सम्म हाल एघार सय बढी विद्यार्थीहरु विद्यालयमा अध्ययन गर्दै आइरहेका छन् भने ६५ जना पूर्णकालीन भने शिक्षक तथा कर्मचारीहरु विद्यालयमा आवद्ध छन् ।

 

तपाईको प्रतिक्रिया