चितवन । चितवनमा श्रीमानले श्रीमतीको हत्या गरि आफैले आत्महत्या गरेका छन् । जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० रमाईलो चोकमा ३५ बर्षीया रुस्मा घिमिरे (आचार्य)को उनका श्रीमान ४३ बर्षका कृष्णप्रसाद आचार्यले  घाँटीरेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

राति १० वजे घरमा बसेर मोबाईल हेरिरहेको समयमा पछाडीबाट श्रीमानले धारिलो हतियार प्रहार गरि उनको हत्या गरेका हुन् । उनको घटनास्थलमै ज्यान गएको हो ।श्रीमतीको हत्या लगत्तै घरको छतमा पुगी  हाम फालेर भाग्ने क्रममा  श्रीमान कृष्णप्रसाद आचार्यकाे पनि ज्यान  गएकाे छ ।छतबाट खसेर गम्भिर घाइते भएका उनकाे नयाँ मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

कृष्णप्रसाद वैदेशिक रोजगारीबाट डेढ महिना अघि मात्रै फर्किएका थिए । उनकी श्रीमती रुस्मा शिक्षिका हुन् । श्रीमान् विदेशबाट फर्किएदेखि नै उनीहरुबीच घरायसी कुरामा झगडा हुने गरेको छिमेकीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । श्रीमान-श्रीमतीको बोलचालसमेत नभएको र घरको अलग-अलग फ्ल्याटमा बस्ने गरेको स्थानीयले जानकारी दिए । उनीहरुको १२ वर्षीया एक छोरी छिन् ।

तपाईको प्रतिक्रिया