नवलपुर । नेकपा एमाले निकट अनेरास्ववीयु नवलपुरमा विवाद देखिएपछि अनाधिकृत गतिविधि नगर्न पार्टीले निर्देशन गरेको छ । पार्टी जिल्ला सचिव एवम् जनसंगठन समन्वय सयन्त्र प्रमुख भिमलाल अधिकारीले अनाधिकृत रुपमा अनेरास्ववीयु नवलपुर कमिटीको नाममा सामाजिक सञ्जालमा प्रचार प्रसार भइरहेको भन्दै त्यस्तो गतिविधि रोक्न ध्यानाकर्षण गराएका हुन् ।

नवलपुरमा अनेरास्वीयुको दुई वटा कमिटी घोषणा भएको छ । सुरज सापकोटा र बिष्णु पौडले अध्यक्ष रहेको छुट्टाछुट्टै कमिटी घोषण भएपछि पार्टी जिल्ला कार्यालयमा यस अगाडी बैठक समेत बसेको थियो ।

अनेरास्ववीयु नवलपुरको २०७८ फागुन १४ गते २५ औं जिल्ला अधिवेशन उद्घाटन सत्र सम्पन्न भई निर्वाचन कार्यक्रम स्थगित भएकोमा संगठनका केन्द्रीय सदस्यहरु र पार्टी जिल्ला नेतृत्वसंग आवश्यक परामर्श र छलफल गरी नेतृत्व चयन प्रक्रिया टुङ्याउने गरी निर्णय भएको स्मरण गराउदै उहाँले पार्टी जिल्ला सचिव अधिकारीले अनाधिकृत रुपमा फरकफरक व्यक्तिहरुबाट जिल्ला कमिटी घोषणा गरिएकोमा पार्टी जिल्ला कमिटीको ध्यानाकर्षण भएको जनाएका छन् ।

जिल्ला पदाधिकारी र अनेरास्ववीयु केन्द्रीय सदस्यहरु बीच भएको बैठकबाट अर्को निर्णय नभएसम्मका लागि कमिटी घोषणा गर्ने, सपथग्रहण गर्ने जस्ता गतिविधिहरु नगर्न/नगराउन निर्देशित गर्ने निर्णय भएकोले सोही अनुसार गर्न उनले सबैलाई जानकारी गराएका छन् ।

अनेरास्ववीयु केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज सागर न्यौपानेले पार्टी नेतृत्व र विद्यार्थीहरु बीच छलफल नै नगरी एकलौटी रुपमा असार २६ गते आफु निकटका बिष्णु पौडेल अध्यक्ष रहेको कमिटी घोषणा गरेपछि अनेरास्ववीयुमा विवाद शुरुवात भएको हो ।

२५ औं जिल्ला अधिवेशन आयोजक कमिटी अध्यक्ष सुरज सापकोटाले अनेरास्ववीयु गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले नेतृत्व प्रदान गरेको पत्र सहित आफ्नो नेतृत्वको अर्को जिल्ला कमिटी घोषणा गरेका छन् ।अनेरास्ववीयुको २५ औं जिल्ला अधिवेशनको निर्वाचन मण्डल गठनको बिषयमा विवाद भएपछि बन्द शत्र शुरुवात नभई स्थगित भएको थियो ।

तपाईको प्रतिक्रिया