चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरबासीलाई खुसी र सुखी बनाउने कार्यमा अगाडि बढेको बताउनुभएको छ ।८ अ‍ौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लाईन्स क्लब अफ चितवन आरोग्यले मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा औल्याउनु भएको हो ।

मेयर दाहालले अब हुने विकासका गतिविधिमा भरतपुरबासीलाई कसरी खुसी र सुखी बनाउनेतर्फ ध्यान केन्द्रित गरिएको बताउनुभयो ।खुसी महानगरबासी बनाउन विभिन्न विषयगत विज्ञहरुसँग छुटाछुट्टै छलफल, परामर्श एवम् सुझाव संकलन गर्ने कार्य गरिरहेका छौ, उहाँले भन्नुभयो,‘भौतिक विकास र मानविय विकासलाई सँगै लैजानुपर्छ भन्ने हाम्रो चाहाना छ । ११ औँ नगरसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रमले यसलाई पुष्टी गर्छ ।’

भौतिक विकाससँगै मानविय विकास गर्न नीति तथा कार्यक्रम निर्माण गरेर अगाडि बढेको जानकारी दिनुभयो ।भौतिक खुसीमात्र नभई मानसिक रुपमा खुसी हुन योगको भूमिका महत्वपूर्ण रहने उहाँको भनाई छ ।भरतपुरबासीले योगालाई महत्व दिनु भएकै छ, उहाँले भन्नुभयो,‘यहाँ योगाशाला, जिमखाना, एरोबिक, व्यामशाला, पतञ्जली योगपिठ निर्माण भईरहेका छन् । प्रत्येक वडामा योगा अभ्यास गर्नेको संख्या ठुलो छ । यस्ता केन्द्रले शारीरिक मात्र नभई मानसिक तन्दरुस्तीमा सहयोग पुगेको छ ।’

कार्यक्रममा संस्थाका सदस्य डा आन्नदप्रसाद रेग्मीले योगको सुरुवात शिव भगवानले गरेको पौराणिक कथामा उल्लेख भएको बताउनुभयो । योगा पहिले मृत्युपछि मुक्ति पाइन्छ भनी गर्ने गरिएको कथन रहेको उल्लेख गर्नुभयो । अहिले मुक्ति लागि भन्दा स्वास्थ्य रहन योग गर्ने गरिन्छ–उहाँले भन्नुभयो ।कार्यक्रममा योगसँग सम्बन्धीत विज्ञहरुले योगाको बारेमा जानकारी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया