काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको प्रमुख र उपप्रमुखमा अपेक्षित परिणाम नआए पनि पार्टी देशको प्रमुख शक्तिका रुपमा स्थापित भएको निष्कर्ष निकालेको छ ।

सोमबार बसेको पार्टी सचिवालय समितिको बैठकले कयौं ठाउँमा स्वस्थ, मर्यादित र स्वतन्त्र र निष्पक्ष रुपमा चुनाव हुन नसकेको निष्कर्ष निकालेको छ । सरकारले नै निर्वाचनको स्वच्छता, पवित्रतालाई दूषित बनाउने काम गरेको भन्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘प्रक्रियामा देखिएका विकृतिहरुप्रति गहिरो चिन्ता छ ।’

चुनावी परिणामबारे भने एमालेको दुईथरि विश्लेषण छ । पालिका प्रमुख र उपप्रमुखमा २०७४ भन्दा कमजोर भएको भन्दै उपमहासचिव ज्ञवालीले भने, ‘यो अपेक्षित होइन ।’

यसका केही बाह्य र केही आन्तरिक कारण भएको एमालेको निश्कर्ष छ । पार्टीविरुद्ध गठबन्धन, चुनावमा सत्ताको दुरुपयोग जस्ता विषयलाई बाह्य कारण भनेको एमालेले समयमा उम्मेदवार चयन गर्न नसक्नु, आकांक्षीहरुको सही व्यवस्थापन नहुनु, निर्वाचन परिचालनमा कुशलता देखाउन नसक्नु जस्ता विषयलाई आन्तरिक कारण मानेको छ । केही ठाउँमा घात अन्तर्घात भएको भन्दै एमालेले प्रमाणित भएकाहरुलाई सम्बन्धित कमिटीले कारबाही गर्ने बताएको छ ।

प्रमुख, उपप्रमुख, वडाध्यक्षमा पार्टीका उम्मेदवारले पाएको मत र समग्र मत हेर्दा एमालेले ३४ प्रतिशत पपुलर भोट पाएको भन्दै एमाले उपमहासचिव ज्ञवालीले भने, ‘यावत घेराबन्दी, सत्ताको दुरुपयोगका बाबजुद एमाले देशको प्रमुख शक्ति हो भन्ने निर्वाचनबाट स्थापित भएको छ । यसप्रति हामी गर्व गर्छौं ।’ अनलाईन खबरबाट

तपाईको प्रतिक्रिया