काठमाडौं । नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल भएको छ ।पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको एक शीर्ष नेताले बताए ।‘अर्थमन्त्रीको गतिविधिका कारण अब हामी धेरै नाङ्गिने ठाउँ छैन,’ एक नेताले  भने, ‘उहाँलाई फिर्ता बोलाउनुपर्छ भनेर अध्यक्ष कमरेडसँग कुरा राखेका छौं, अध्यक्षले पनि यसबारेमा सोच्छु भन्नुभएको छ ।’

पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले आइतबार नै शर्मालाई उनकै निवास खुमलटार बोलाएर छलफल गरेका थिए । उनीहरुबीच दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म छलफल भएको थियो । तर छलफलमा के भयो भन्नेबारेमा चाहिँ खुलेको छैन ।प्रचण्डका स्वकीय सचिव रमेश मल्लले अर्थमन्त्री शर्मा आइतबार दिउँसो चार बजे आएर करिब दुई घण्टा प्रचण्ड निवासमा बसेर गएको पुष्टि गरे । तर छलफलबारे भने आफूलाई कुनै जानकारी नभएको बताए ।

अर्थतन्त्र संकटमा रहेका बेला त्यसलाई सम्हाल्ने गरी काम गर्न नसकेको भन्दै शर्माको माओवादीभित्रै र सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र पनि आलोचना भइरहेको छ ।यसअघि नै शर्मालाई हटाउने कोसिस भएको भए पनि बजेट ल्याउने बेलामा नराम्रो सन्देश जाने भन्दै त्यसलाई बजेटपछि सारिएको थियो ।

तपाईको प्रतिक्रिया