×

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ निष्कासनपश्चात् बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू। १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी १३ लाख ६५ हजार कित्ता शेयर भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो ।

यो आईपीओ छिटोमा जेठ २५ गतेसम्म विक्रीमा रहनेछ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि असार ३ गतेसम्म विक्री खुला हुने कम्पनीको भनाइ छ ।पछिल्लो समय आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा यस कम्पनीको आईपीओ पनि छिटो अवधिसम्म मात्र विक्रीमा रहने सम्भावना बढी छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कार्यालय सयमपश्चात् विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ ।

साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।आईपीओ निष्कासनका लागि गराएको रेटिङ मा कम्पनीलाई केयर रेटिङ नेपालले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस आईएस रेटिङ प्रदान गरेको छ ।

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय क्षेत्रका वासिन्दाहरुका लागि रू। १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर वैशाख ११ गतेदेखि २७ गतेसम्म विक्री गरेको थियो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई सम्पूर्ण कित्ता शेयर जेठ ११ गते बाँडफाँट भएको हो । जारी पूँजी रू। १ अर्ब रहेको यस कम्पनीमा हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू। ७५ करोड रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा जारी पूँजीको १० प्रतिशत आईपीओ वितरण गरेको हो भने दोस्रो चरणमा १५ प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्नेछ ।

कम्पनीको आर्थिक वर्ष ०७७र७८ सम्ममा वास्तविक प्रतिशेयर नेटवर्थ रू। ११९ दशमलव ३४ रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी भने रू। ९ दशमलव ६८ छ ।कम्पनीले कास्की जिल्लामा ८ दशमलव ८ मेगावाट क्षमताको रुदि खोला ए जलविद्युत् आयोजना र ६ दशमलव ६ मेगावाट क्षमताको रुदि खोला बि जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ ।

रुदि खोला ए जलविद्युत् आयोजनाको कुल लागत रू। १ अर्ब ५५ करोड ५० लाख ९९ हजार र रुदि खोला बि जलविद्युत् आयोजनाको निर्माण लागत रू। १ अर्ब ३३ करोड ९७ लाख २८ हजार रहेको छ ।

तपाईको प्रतिक्रिया