गैँडाकाेट । नवलपुरको गैंडाकोट नगरपालिका वडा नंं ९ मा बसोबास गर्ने महिलाहरुले सुत्केरी हुँदा २५०० रुपैँया भत्ता पाउने भएका छन् । वडाभित्र स्थायी बसोबास गर्ने महिला सुत्केरी हुँदा पोषणभत्ता स्वरुप वडा कार्यालयबाट २५०० रुपैँया उपलव्ध गराउने निर्णय भएको नवनिर्वाचित वडाअध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो ।

आज बसेको वडा कार्यसमितिको पहिलो बैठकले सरकारी वा निजी जुन अस्पतालमा प्रसुती सेवा लिएको भए पनि सो भत्ता पाउने निर्णय गरेको हो ।यो निर्णय आजबाट नै लागु हुने अध्यक्ष सापकोटाले बताउनुभयाे ।आमाहरुको सम्मान तथा कमजोर अवस्थामा महिलाहरुलाई सरकारले सहयोग गरेको अनुभूति दिलाउन वडाले नगरमै पहिलोपटक सुत्केरी भएवापत रकम उपलव्ध गराउन लागेको अध्यक्ष सापकोटाको भनाइ छ । सुत्केरी भएको आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन दिएपछि सो रकम उपलव्ध  गराउने निर्णय भएको छ ।

त्यसैगरी वडाले वडाभित्रका नागरिकहरुका लागि निःशूल्क फोटोकपी सेवा उपलव्ध गराउने भएको छ । कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीलाई आवश्यक पर्ने फोटोकपी निशुल्क गर्ने निर्णय वडा समितिको बैठकले गरेको हो । वडामा विभिन्न प्रकारका सेवा लिन आउँदा वडाबासीले सक्कली कागजातको छाँयाकपी बुझाउनुपर्ने हुन्छ ।

वडा अध्यक्ष धामनाथ सापकोटाको अध्यक्षतामा बसेको बैठकमा सदस्यहरु ज्ञानप्रसाद खनाल,गमता भटराई पाण्डे,दिनेश कुमाल, विन्दुमाया विक र वडा सचिव चन्द्र प्रसाद भूसालको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया