नवलपुर । चीनबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेपछि २८ वर्षका दीपेन्द्र सुनारी मगर, जन्म गाउँ नवलपुरको बुलिङ्टार फर्किए ।डोजरले जताततै पहाड भत्काउनुबाहेक गाउँको जीवनस्तरमा ठोस परिवर्तन थिएन । उनी गाउँघर चहारे । कोरोना महामारीको समयभरि गाउँमै बसे । त्यसबेला उनले सरकार र जनता बीचको सम्बन्धमा ठूलो खाडल देखे ।

गाउँमा पानीको अभाव, बिजुलीको समस्या, युवाको विदेश पलायन, आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था, आयआर्जनमा समस्या यी यावत कुराहरू देखेपछि दीपेन्द्रलाई छट्पटी भयो । उनलाई गाउँलेका निर्दोष मनहरुले प्रश्न सोधेको अनभूति हुन्थ्यो, ‘के तिमी हाम्रो जुनी बदल्ने कुनै काम गर्न सक्छौं रु उनी भावुक हुन्थे । कुनै प्रोजेक्ट वा योजना वा कार्यक्रमबाट मात्रै जनताको खुसी ल्याउन नसक्ने निष्कर्षमा पुगेका दीपेन्द्र राजनीतिमा होमिने सोचमा पुगे ।

उनको पारिवारिक पृष्ठभूमि नेकपा एमालेको थियो । २०५४ सालमा दीपेन्द्रका बुवा शेरबहादुर सुनारी मगरलाई गाविस अध्यक्षमा कांग्रेसकै उम्मेदवारले हराएका थिए । २०७४ को चुनावमा वडा नम्बर १ बाट वडाध्यक्ष उठेका शेरबहादुर फेरि हारे । कारण, यो कांग्रेसको सबैभन्दा बलियो किल्ला  हो ।

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाक छोरा, पूर्व महामन्त्री डा। शशांक कोइरालाको निर्वाचन क्षेत्रमा पर्ने बुलिङटारले तीन पटकसम्म उनलाई जिताएको छ । बुलिङटारलाई ‘बीपीको छोराले रोजेको ठाउँ’ भन्ने गरिन्छ । कतिपय कांग्रेस कार्यकर्ताले बुलिङटारमा झण्डै ९० प्रतिशतभन्दा बढी कांग्रेस रहेको बताउँछन् ।

यस पृष्ठभूमिमा दीपेन्द्र गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने तयारीमा लागे । हार निरन्तरताको अर्को ताज थप्न हत्तपत्त उम्मेदवार बन्न नेताहरू समेत हिच्किचाउँछन् यहाँ । पार्टीको बैठकमा आफू गाउँपालिकाको अध्यक्ष उम्मेदवार बन्ने आकांक्षा मात्रै राखेनन् दीपेन्द्रले गाउँको अहिलेको अवस्था र आफ्ना योजना पनि सुनाए । उनी गाउँका विषयम धेरै सूचना, जानकारी र तथ्यांक बोकेर हिँडेका थिए ।

जितको आधार देखाउँदा कतिपय नेताहरु ओठ फर्काउँथे तर दीपेन्द्र टिकट पाए जसरी पनि जित्ने र जनतालाई खुसी दिने बताइरहेका थिए । गाउँपालिका अध्यक्षका लागि दीपेन्द्र सहितसात जनाको नाम सिफारिस भएको थियो । नवलपुर जिल्ला इञ्चार्ज तिलक महत, सहइञ्चार्ज रवीन्द्र अधिकारी, केन्द्रीय सदस्य कृष्ण पौडेललगायतलाई आफूले कन्भिन्स गरेको दीपेन्द्र बताउँछन् । अन्ततः दीपेन्द्रले एमालेबाट गाउँपालिका अध्यक्षको टिकट पाए । पढे लेखेका युवालाई गाउँमा बोलाए । तथ्याङ्कलाई टेकेर उनीहरुले योजना बनाए । उनीसँग सबै क्षेत्रका युवाहरुको टिम छ ।

बुलिङटारका जनताको जीवनस्तर खै त सुध्रिएको रु गाउँको विकास खोइ रु जनताको स्वास्थ्यमा सुधार खोइ रु जवाफदेहीता र पारदर्शिता खोइ रु यी प्रश्न लिएर दीपेन्द्रसहितका युवा जनताको घरमा घरमा पुगे । समस्या मात्रै बताएनन्, आफ्ना एजेण्डा पनि सुनाए ।

गाउँको विकास गर्ने तरिका जनतालाई बुझाए । ३० वैशाखमा भएको स्थानीय चुनावमा दीपेन्द्र चार हजार ५९ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका शशीकिरण बस्ताकोटीले ३ हजार ९ सय मत ल्याए । यहाँका १२ हजार ५०१ मतदातामध्ये ८ हजार ४२२ मत खसेको थियो ।

अघिल्लोपटक गाउँपालिका अध्यक्ष बनेका कांग्रेसका बास्ताकोटी यसपटक पनि जित्नेमा ढुक्क थिए । तर, जनताले मतमार्फत मन फेरे । अहिलेसम्म बुलिङ्टारमा नहारेको कांग्रेसलाई हराएर दीपेन्द्रले इतिहास रचे । जम्मा ६ वटा वडा भएको गाउँपालिकामा उपाध्यक्षसहित पाँचवटै वडामा कांग्रेसको प्यानलै विजयी भएको छ ।

वडा नम्बर ५ र अध्यक्ष मात्रै एमालेले जितेको छ । दीपेन्द्रको वडामा समेत कांग्रेसले जित्यो । उनी भन्छन्, ‘केही दिन समय पाएको भए, यी वडामा जित निकाल्न असहज थिएन । अब यो मतलाई विश्वासमा बदल्छु ।’ बुलिङटारमा जितको अर्को कार्ड थियो, मगर जनमत । ७८ प्रतिशत मगर जातिको बसोबास रहेको यो गाउँपालिकामा ६ प्रतिशत रहेका बाहुन क्षेत्रीले मात्रै शासन गरेको बुझाइ रहेको दीपेन्द्र बताउँछन् ।

को हुन् दीपेन्द्र ?

२०५१ साल साउन १२ गते बुलिङ्टार १ कोटथरमा जन्मिएका दीपेन्द्रले गाउँकै जनजागृति प्राविबाट आधारभूत तहको शिक्षा र रत्नराज्य माविबाट कक्षा १० सम्मको शिक्षा लिए । एसएलसी पास गरेपछि उनी भरतपुरको अरोमा उच्च माविमा विज्ञान विषय लिएर पढे ।

त्यसपछि काठमाडौं थापाथली इन्जिनियरिङ क्याम्पसमा छात्रवृत्तिमा स्नातक पढ्न पाए । स्नातक पूरा गरेपछि सरकारकै पूर्ण शुल्कमा चीनको उहानबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर पूरा गरे । चीनबाट फर्किएपछि उर्जा क्षेत्रमा काम गरे ।

उनका बुवा शेरबहादुर सुनारी बुलिङटारमा एमालेबाट राजनीति गर्छन् । शेरबहादुरका दुई छोरामध्ये जेठा हुन, दीपेन्द्र । उनी पारिवारिक पृष्ठभूमि र गाउँका जनताको दुःखले राजनीतिमा आउन प्रेरित गरेको बताउँछन् ।

दीपेन्द्रले एमालेको विज्ञान तथा प्रविधि विभागमा बसेर काम गरे । युवाले केही सिकेर, जानेर देश र गाउँमा नै फर्किएर जनताको सेवा गर्नुपर्ने उनको धारणा छ । आफूले आर्जन गरेका ज्ञानसीपको आफ्नै गाउँका लागि खर्चिने उनको योजना छ ।

आधारभूत समस्या समाधान गर्छु : सुनारी

दीपेन्द्रले गाउँको विकासका लागि उति ठूलो सपना राखेका छैनन् । हचुवा र जनता ढाँट्ने गरी काम आफूबाट नहुने उनी बताउँछन् । उनी भन्छन्, ‘मैले जनताको बीचमा पूरा नै गर्न कठिन हुने योजनासुनाएको छैन, जनताका दैनिक आइपरेका समस्याहरुको समाधान दिने काम गर्छु ।’

उनले कृषिलाई व्यावसायिक बनाउने र शिक्षालाई व्यावहारमुखी बनाउनुलाई प्राथमिकतामा राखेका छन् । युवाको कृषि फर्मको दर्ता निशुल्क गर्ने, पूर्वाधार बनाइदिने, कृषि उपजको बजार व्यवस्थापन गर्ने, लगानीकर्ताको स्केल अनुसार रकम नहुने किसानलाई १ देखि १० लाखसम्म कृषि कर्जाका लागि गाउँपालिकाले शून्य ब्याजदरमा बैंकसँग जमानत बसेर दिने व्यवस्था गर्ने उनको सोच छ ।

बिजुली नपुगेका बस्तीहरुमा विद्युत, खानेपानीको चरम संकट रहेकाले खानेपानीको सहज व्यवस्थापन, आयआर्जन तथा सीपमूलक साना व्यवसायमा जनतालाई आकर्षित गर्ने कार्यक्रम ल्याउने उनले बताएका छन् । गाउँमा स्वास्थ्य उपचार गराउने भरपर्दो ठाउँ नभएकाले चिकित्सक बस्ने एउटा भरपर्दो अस्पताल, विद्यालयहरुको भौतिक र शैक्षिक गुणस्तरमा सुधार गर्ने, विद्यार्थीहरुलाई विद्यालय छाड्ने वातावरणको अन्त्य गर्ने उनको योजना छ । (अनलाईन खबर)

तपाईको प्रतिक्रिया