चितवन । कालिका नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण तथा स्वागत एवं निवर्तमान जनप्रतिनिधिहरुको बिदाई कार्यक्रम आज सम्पन्न भएको छ । कालिका नगरपालिकाको आयोजनामा खोलेसिमलमा भएको सो कार्यक्रम कालिका नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत निशान राज गौतमको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा कालिका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिनोद रेग्मीले नवनिर्वाचित उप प्रमुख बिमला तामाङ सहित ११ वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । त्यस्तै गरि सोही कार्यक्रममा नगरपालिकाको तर्फबाट प्रमुख प्रसाशकिय अधिकृत गौतमले नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख सहित ११ वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाई खादा र टीका लगाई स्वागत गर्नु भएको थियो ।

त्यस्तै नगरपालिकाको तर्फबाट प्रमुख प्रसाशकिय अधिकृत गौतमले निवर्तमान नगर प्रमुख खुमनारायण श्रेष्ठ, उपप्रमुख कमला भट्टराईसहित ११ वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाई खादा टिका र मायाको चिनो प्रदान गरि बिदाई गरिएको थियो । नगरपालिकाका कृषि शाखा प्रमुख शिवराज पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम सूचना अधिकारी प्रकाश पौडेलले संचालन गर्नु भएको थियो ।

सो अबसरमा नगर प्रमुख बिनोद रेग्मी, उपप्रमुख बिमला तमाङ, निवर्तमान नगर प्रमुख खुमनारायण श्रेष्ठ, निवर्तमान उपप्रमुख कमला भट्टराई,निर्वाचन अधिकृतको कार्यालय कालिकाका निर्वाचन अधिकृत महेशप्रसाद खत्री, कालिका–१ का निवर्तमान वडा अध्यक्ष लिलाबहादुर गुरुङ, कालिका–३ का निवर्तमान वडा अध्यक्ष टिकाराज रिजाल, कालिका–४ का निवर्तमान वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठ, कालिका–७ का निवर्तमान वडा अध्यक्ष डिल्लीराम दवाडी लगायतले मन्तव्य राख्नु भएको थियो ।

नगरपालिकाका नव निर्वाचित मेयर बिनोद रेग्मीले कालिका नगरबासीको भावना समेटदै नयाँ सोच तथा उत्साहका साथ काम गर्ने बताउनु भएको छ । स्वागत तथा बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रेग्मीले निर्वाचनमा बिजयी गराउनु हुने सबै– सबैलाई धन्यवाद दिदै नगरबासीको भावनालाई सधैं कदर गर्ने बताउनु भयो । अहिले बोल्नु भन्दा काम गरेर नगरलाई समृद्ध बनाउने बेला भएको भन्दै रेग्मीले नयाँ सोच र नयाँ उत्साहका साथ समुन्नत र समृद्ध कालिका बनाउन आफू सधैं लागि रहने बताउनु भयो ।

तपाईको प्रतिक्रिया