गैँडाकोट । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नवलपुरमा नेकपा एमालेले ठुलो सफलता प्राप्त गरेको छ । जिल्लामा स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै नेकपा एमाले नवलपुरको सबैभन्दा ठुलो दल बन्न सफल भएको छ ।नवलपुरका आठ स्थानीय तहहरु मध्ये ६ वटा स्थानीय तहमा नेकपा एमालेले विजयी हाँसिल गरेको छ ।

जिल्लाको देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दुु नगरपालिका, विनयीत्रिवेणी गाउँपालिका र बौदीकाली गाउँपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ भने बुलिगंटार गाउपालिकामा प्रमुख पदमा विजयी हाँसिल गरेको छ । गैँडाकोट नगरपालिका र हुप्सेकोट गाउँपालिकाको प्रमुख र उप्रमुखमा भने नेपाली काँग्रसेले विजयी हाँसिल गरेको छ ।

विनयीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका घनश्याम गिरी र उपाध्यक्षमा भगवती बैदवार विजयी भएका छन् भने बौदीकाली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेदवारहरु प्रकाश ओझा र डिलकुमारी सारु विजयी भए । यता मध्यविन्दु नगरपालिकाको मेयर र उपमेयरमा क्रमशः भिमलाल अधिकारी र पुर्णकला चौधरी विजयी भएका छन् ।

त्यसैगरी जिल्लाको बुलिगंटार गाउँपालिकामा नेकपा एमालेले पहिलोपटक जित हाँसिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र सुनारी विजयी भएका छन् उनले काँग्रेसका शशिकिरण बस्ताकोटीलाई पराजित गरे । काँग्रेसले आफ्नो आधार ईलाका भन्दै आएको क्षेत्रमा नेकपा एमालेले पहिलोपटक धावा बोलेको हो ।

यहा मुख्य राजमार्गसँगै जोडिएका कावासोती र देवचुली नगरपालिकामा पनि नेकपा एमोलेले विजयी हाँसिल गरेको छ । कावासोतीको मेयर र उपमेयरमा नेकपा एमालेका विष्णुप्रसाद भुसाल र फुलकुमारी थनेत विजयी भएका छन् । त्यसैगरी देवचुलीको प्रमुखमा हरि न्यौपाने र उपमेयरमा पार्वता तिवारी विजयी भएका छन् ।

जिल्लाको गैँडाकोट नगरपालिका र हुप्सेकोट गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । गैँडाकोटको मेयरमा मदनभक्त अधिकारी र उपमेयरमा शान्ति कोईराला विजयी भए त्यसैगरी हुप्सेकोट गाउँपलिकाको अध्यक्षमा काँग्रेसकै लक्ष्मी पाण्डे र उपाध्यक्षमा पुर्णसिङ राना विजयी भएका छन् ।नवलपुरमा नेकपा एमाले पहिलो पार्टी बनेसँगै जिल्ला समन्वय समिति समते आफ्नो पक्षमा ल्याउन सफल भएको छ । दलहरुले पालिका जितेको आधारमा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख हुने ब्यवस्था छ ।

नेकपा एमालेका केन्द्रीय सदस्या तथा जिल्ला सहईन्चार्ज रविन्द्र अधिकारीले पाँचदलीय गठबन्धनप्रति जनताको आर्कषण नभएकै कारण नवलपुरमा आफुहरुले सफलता प्राप्त गरेको बताउनुभयो । एमालेको जनआधार बलियो हुनु र गठबन्धन प्रति जनातको आर्कषण नभएकै कारण पार्टीले जिल्लामा ठुलो सफलता हाँसिल गर्न सफल भयो अधिकारीले भन्नुभयो : प्राप्त उपलव्धीलाई संस्थागत गरेर जनाताका पक्षमा काम गर्न एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुहरुले काम गर्नेछन् ।

नवलपुरका पार्टीप्रति देखिएको आर्कषणको असर आगामी संघीय निर्वाचनमा समेत हुने भएको भन्दै उहाँले केहिदिनमै जिल्ला स्तरीय नेताहरुसहितको बैठकले चुुनावी समिक्षा गर्ने र थप रणनिती बनाउने जानकारी दिनुभयो ।जिल्ला समन्वय समितिमा कसलाई पठाउनुहुन्छ भन्ने प्रश्नमा नेता अधिकारीले त्यसको बारेमा छलफल नभएको भन्दै पार्टिभित्र छलफल गरेर आवश्यक निर्णय लिइने बताउनुभयो ।

तपाईको प्रतिक्रिया