चितवन । नेकपा एमालेले भरतपुरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा वैशाख २५ गते चुनावी आमसभा गर्ने भएको छ ।नारायणगढको क्याम्पाचौरमा महानगरस्तरीय अन्तिम चुनावी सभा गर्ने तयारी गरिएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा व्यापक जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ’, न्यौपानेले भने ।

त्यसअघि भरतपुर महानगरका विभिन्न स्थानमा एमालेले क्षेत्रीय चुनावी सभा गरिरहेको छ । भरतपुर महानगरका २९ वटै वडाबाट हजारौं कार्यकर्ता क्याम्पाचौरमा सहभागी गराइने न्यौपानेले जानकारी दिए ।यसअघि केन्द्रिय बस टर्मिनलमा आमसभा गर्ने तय गरिएपनि पानीका कारण हिलाम्य भएका कारण क्याम्पाचौरमा गर्ने निर्णय गरिएको हो । भरतपुर महानगरमा मेयर पदको लागि एमालेबाट बिजय सुवेदी चुनावी मैदानमा छन् ।

एमाले–राप्रपा तालमेलपछि उपमेयरमा राप्रपाबाट हिमला गुरुङ छन् । सुवेदी र गुरुङले हाल संयुक्त रुपमा चुनावी घरदैलो गरिरहेका छन् । पाँच दलिय गठबन्धनले बिहिबार केन्द्रीय बसपार्कमै चुनावी सभा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया