चितवन ।  भरतपुर महानगरले आर्थिक वर्ष २०७७/२०७८ मा कोभिड नियन्त्रणको लागि आएको पौने दुई करोड रुपैयाँ नियम मिचेर खर्च गरेको पाइएको छ । आफ्नो आन्तरिक स्रोत मात्रै नभइ प्रदेश र संघबाट समेत कोभिड व्यवस्थापनको लागि प्राप्त रकम सार्वजनिक खरिद ऐन नै पालना नगरी खर्च गरेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको हो । माहालेखाले सार्वजनिक गरेको गत वर्षको प्रतिवेदनमा भरतपुर महानगरले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ (२) प्रयोग नगरी टुक्रे खरिदबाट करिब दुर्ई करोड रुपैयाँ खर्च गरेको छ ।

प्रतिवेदन अनुसार कोभिड नियन्त्रणको लागि महानगरको गतवर्ष आन्तरिक बजेट ६७ लाख ६१ हजार तीन सय पाँच रुपैयाँ मात्रै थियो । जबकि कोभिड नियन्त्रणको लागि महानगरलाई विभिन्न दाता, सांसद, प्रदेश र बिमाबाट गरि कुल दुई करोड ११ लाख ८१ हजार तीन सय ४ रुपैयाँ प्राप्त भएको थियो । उक्त बजेटबाट पौने करोड बढि रकम सार्वजनिक खरिद ऐन मार्फत खर्च नगरी विभिन्न टुक्रे शिर्षकमा खर्च गरि सकाइएको छ । जसमध्ये सबैभन्दा धेरै बजेट आइसोलेसन खर्चमा गएको छ ।

महालेखा प्रतिवेदन अनुसार आइसोलेसनमा एक करोड ४२ लाख ४ हजार ४ सय ६० रुपैयाँ खर्च गरिएको छ भने सबैभन्दा कम सरसफाइ खर्च ११ हजार ८ सय ५० रुपैयाँ छ ।औषधि खरिद, खाना, चिया खाजा, आइसोलेसन, बीमा भुक्तानी, क्वारेन्टाइन लगायत दस शिर्षमा गरिएको खर्च मध्ये औषधि खरिदमा ४ लाख ९३ हजार रुपैयाँ खर्च छ भने चिया खाजा खर्च मात्रै २६ लाख ७४ हजार ६८ रुपैयाँ रकम देखाइएको छ ।

कोभिडमा गरिएको यि सबै खर्च टुक्रे खरिदबाट गरिएको हो । जबकि सार्वजनिक खरिद ऐन २०६३ को दफ ८ (२) ले ‘यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम खरिद गर्दा प्रतिस्पर्धा सीमित हुने गरी टुक्रा टुक्रा पारी खरिद गर्नु हुँदैन’ भनेको छ । स्मरणीय छ कि निर्माण भइसकेको चितवन उद्योग संघको प्रदर्शनी भवनलाई पार्टेशन गरेर ७२ घण्टामा नै कोभिड अस्पताल बनाइएको भनेर चर्चा कमाएको थियो । भने, महानगरले नै अस्पतालमा राखेका कर्मचारीले कोभिड अस्पतालको सामाना चोरेको सीसी टिभीको भिडियो बाहिरिएपछि पछि अस्पताल नै बदनाम भएको थियो । उक्त मुद्धा अझै पनि अख्तियारमा रहेको छ ।

तपाईको प्रतिक्रिया