चितवन–लोकतान्त्रिक वाम गठबन्धनले भरतपुर महानगरपालिकाको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।एक कार्यक्रमकाबीच महानगरपालिकाकी प्रमुखकी उम्मेद्वार रेनु दाहाल र उपप्रमुखका उम्मेद्वार चित्रसेन अधिकारीले २२ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । गठबन्धनले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा बेरोजगारीमुक्त भरतपुरदेखि ७० वर्षमाथिका नागरिकलाई निःशुल्क बससेवा संचालन गर्ने उल्लेख छन् ।

प्रतिवद्धतापत्रमा सुशासन र सेवा प्रवाह–डिजिटल महानगर, एशियाली मापदण्डका भौतिक पूर्वाधार, सबैका लागि गुणस्तरीय शिक्षा, हरेक वडामा अस्पताल–स्वास्थ्य क्षेत्रमा समाजवाद, पर्यटनःस्वरोजगारको आधार, कृषि र किसान पेन्सन कार्यक्रम, बेरोजगारीमुक्त भरतपुर, यातायातमा केही महिनाभित्रै इलेक्ट्रिक बस संचालन, वन तथा वातावरण र जैविक विविधता–‘समृद्धिका लागि वन कार्यक्रम’, सक्षम, स्वस्थ र सुरक्षित महिला एवं बालबालिका विषयलाई समेटिएको छ ।

यस्तै भरतपुर देशकै खेलकुद केन्द्र, साहित्य, कला र सिर्जना, आदिवासी–जनजातिलाई पहिचान र आत्मसम्मान, भूमिहीनका लागि छत र स्वाभिमान, क्षमता र व्यावसायिकता अभिवृद्धिका लागि आमसंचार प्रतिष्ठान, सिँचाईको प्रत्याभूति, विद्युतीय चुल्होमा अनुदान, फोहोरको स्मार्ट व्यवस्थापन, दलित राहत कार्यक्रम, जेष्ठ नागरिक सम्मान, बालबालिका लक्षित कार्यक्रम, मजदुर लक्षित कार्यक्रम र भगिनी सम्बन्धमा लगायतका विषय समेटिएको छ ।

प्रतिवद्धतापत्रमा ८ बुँदामा छुट्टै वाचा गरिएको छ । जसमा महिलासंग वाचाः सुरक्षा र सम्मानको प्रत्याभूति, उद्यमशीलताको ग्यारेन्टी, भूमिहीनसंगको संकल्पः हरेकको आफ्नै घर हुनेछ, सबैको साझा शहर हुनेछ, कृषकसंगको प्रतिवद्धताः किसान पेन्सन, बिउदेखि ढुवानीसम्म अनुदान, उद्यमीसंग वाचाः ‘मेड इन भरतपुर’को ब्रान्डिङ र बजारीकरण, एक वडा, एक उत्पादन, एक उद्यम, जेष्ठनागरिकसंग संकल्पः घरमै स्वास्थ्यसेवा, विशेष भत्ता र विशेष संरक्षण, व्यवसायीसंग अठोटः देशमै सबैभन्दा राम्रो व्यावसायिक वातावरण, विद्यार्थीसंग वाचाः निःशुल्क इन्टरनेट, गुणस्तरीय शिक्षाको ग्यारेन्टी र युवाहरुसंगको प्रतिवद्धताः राजेगारी र स्वउद्यमको प्रत्याभूति, प्रविधिमैत्री महानगरको अनुभूति विषयलाई प्राथमिकताका साथ समेटिएको छ ।

सो कार्यक्रममा चितवन उद्योग संघका पूर्वअध्यक्ष एवं युवा उद्यमी राजु पौडेलले मुख्य मुख्य प्रतिवद्धता पत्रलाई प्रस्तुत गर्दै व्याख्या गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुखकी उम्मेद्वार रेनु दाहालले आफ्नो कार्यकालमा पुरा गर्न सकिने विषयलाई प्रतिवद्धतापत्रमा समेटिएको बताइन् । गत स्थानीय निर्वाचनमा पनि आफूले जोहर गरेको प्रतिवद्धतालाई पुरा गर्न सफल भएको भन्दै यसपटक पनि पुरा गर्न सकिने खालका विषयलाई मात्रै प्राथमिकतामा राखिएको बताइन् । उनले प्रतिवद्धतापत्र थोरै महत्वाकांक्षी देखिएपनि त्यसलाई केन्द्र र प्रदेश सरकारको साथ र सहयोगमा पुरा गरेरै छाड्ने वाचा गरिन् । ‘मलाई पनि केही बुँदाहरु महत्वाकांक्षी जस्तो होकी भन्ने लाग्यो तर त्यसो होइन, त्यति महात्वाकांक्षी भएन भने काम गर्नै सक्दैन, दृढ इच्छाशक्ति र लगाव हुनुपर्छ, म पुरा गर्नतर्फ लाग्छु’–दाहालले भनिन् ।

उपप्रमुखका उम्मेद्वार अधिकारीले पनि काम गर्नकै लागि प्रतिवद्धता जाहेर गरेको बताए । उनले सबैको सहयोगमा भरतपुर महानगरलाई सुन्दर र विकसित महानगर बनाउने दावी गरे । यस्तै गठबन्धनले चितवनका अन्य पालिकाका लागि तयार पारेको प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया