गैँडाकोट । नेकपा एमाले गैँडाकोटले समृद्धि समानता र समाजवादको आधार गैँडाकोट नगरपालिकामा एमालेको सरकार भन्ने नारा सहित चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।१६ पृष्ठ लामो चुनावी प्रतिवद्धतापत्रमा एमालेले विगतमा आफ्नो नेतृत्वमा गैँडाकोट नगरपालिकामा भएका कामका फेहरिस्त र अवको चुनाव मार्फत आफ्नो नेतृत्वमा स्थानीय सरकार गठन भए गर्ने योजनाका बारेमा आफ्ना धारणा सार्वजनिक गरेको हो ।

समृद्ध गैँडाकोट बनाउने अभियानमा साथ दिदै नेकपा एमालेले गैँडाकोटकोटको विकासका लागि नेकपा एमालेका उमेदवारहरुलाई मत दिन आह्वान गरेको छ ।चुनावी प्रतिवद्धतामा नेकपा एमालेले आफ्नो नेतृत्वमा गैँडाकोट नगरपालिकामा विजयी भए नेपाल विश्वविद्यालय निर्माण सम्पन्न गरि अध्यापन सञ्चालन गर्ने जनाएको छ । नगरपालिकालाई पूर्ण साक्षर नगर बनाउदै माध्यामिक तहसम्मको शिक्षा निशुल्क गर्ने बताएको छ ।

यस्तै एमाले गैँडाकोटले एकवडा एक एम्बुलेन्स कार्यक्रम अन्र्तगत हरेक वडामा एम्बुलेन्स सञ्चालन गरिने कार्यक्रम ल्याउने जनाएको छ ।
नेकपा एमालेले चुनावी प्रतिवद्धतापत्र मार्फत दश हजार लिटरसम्म पिउनेपानी उपभोग गर्ने नगरवासीलाई निशुल्क पिउनेपानीको प्रवन्ध गरिने घोषणा गरेको छ । नगरभित्रका सबै सडकहरु कालोपत्रे गर्ने, गैँडाकोट वडा नं. ३ र ८ जोड्ने पक्कीपुल तथा बेल्डिया मटीकुरी जोड्ने पक्कीपुल निर्माण गर्ने योजना ल्याएको छ ।

नेकपा एमाले गैँडाकोटको चुनावी प्रतिवद्धतापत्रमा तटबन्धन तथा नदी नियन्त्रण,विद्युुत तथा बैकल्पीक उर्जा, बन तथान बातारण सरंक्षण र फोहोरमैला ब्यवस्थापन, पर्यटनको विकास, युवाहरुको रोजगारी, खेलकुदको विकास, नगरका मुख्य चोकहरुमा फ्री वाईफाई, भूमिहिनहरुलाई अस्थायी निस्सा वितरण, भूउपयोग तथा खनिज ब्यवस्थापन, गरिव तथा विपन्न परिवारको घर निर्माण, लगायतका लोकप्रीय विषयहरु समेटिएको छ ।

नेकपा एमाले गैँडाकोटका अध्यक्ष षडानन्द लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले नवलपुरका सहईन्चार्ज तथा केन्द्रिय सदस्य रविन्द्र अधिकारी, केन्द्रीय सदस्य कृष्ण घिमिरे, नेताहरु कृष्ण घिमिरे, देवकला बराल, गैँडाकोट नगरपालिकाका मेयर पदका उमेदवार छत्रराज पौडेल,प्रतिवद्धतापत्र तयारी समितिका संयोजक नेता ज्ञानहरी पौडेल, जिल्ला सदस्यहरु गिरीराज उपाध्याय, भूमा पुन, दिनेशराज न्यौपाने, आशिष विसी, बेदप्रसाद चालिसे लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया