चितवन ।  नेकपा एमालेको तर्फबाट चितवनको इच्छाकामना गाउँपालिकाको प्रमुखको रुपमा सर्वसम्मत उम्मेदवार बनेका दानबहादुर गुरुङसँगले गाउँपालिकाका विभिन्न क्षेत्रका नागरिकसँग सुझाव लिएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनको आयोजनामा आज शनिवार इच्छाकामना ४ कुरिनटारमा गरिएको अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुले एमाले प्रतिवद्धता पत्रमा समेट्न विभिन्न सुझाव दिएका थिए । ‘इच्छाकामनाको विकास र समृद्धि नागरिकको अपेक्षा’ शीर्षक राखेर गरिएको कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका नागरिकहरुले गाउँपालिकाले आगामी पाँच बर्षमा गर्नुपर्ने कार्यक्रमहरुका बारेमा सुझाव दिएका थिए ।

इच्छाकामनाका स्थानीय पत्रकारसमेत रहेका चित्र सोल्टी गुरूङले गाउँपालिकाले स्थानीय जातजातिको भाषाा तथा संस्कृतिको संरक्षणमा विषेश ध्यान दिन जरुरी रहेको बताए । इच्छाकामनाका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र पूर्वाधार निर्माणमा विषेश जोड दिनुपर्ने उनको सुझाव छ । कार्यक्रममा सहभागीहरुले वितेको पाँच बर्षमा गाउँपालिकाको प्राकृतिक स्रोत साधानको दोहन कानुन विपरित भएकोले त्यसलाई कमभन्दा कम क्षति हुने गरी र गाउँपालिकाको विकासमा मात्रै लगाउनुपर्नेमा जोड दिए ।

यस्तैं गाउँपालिकामा भरपर्दो अस्पताल नहुँदा जनताले हैरानी भोग्नुपरेको भन्दैं गाउँपालिकाको एउटा सुविधा सम्पन्न अस्पताल बनाउने योजना अवको कार्यक्रममा समेटिनुपर्ने धारणासमेत सहभागीहरुले राखे । इच्छाकामनाको तामिन लगायतका भूभागमा सुन्तलाको पकेट क्षेत्र रहेकोले यसको प्रवद्धन र रोग किरा नियन्त्रण, जलपर्यटन, ठूला होटल व्यवसायीहरुलाई आर्कषित गर्ने, चितवन जिल्लाकै अग्ला डाँडाहरु सिचाईचुली र उपरदाङगढीमा सुविधा सम्पन्न होमस्टे बनाएर स्थानीय जनतालाई आयआर्जनमा लगाउनुपर्ने, चेपाङ जातिमा रहेको पछ्यौटेपनलाई हटाउन विभिन्न कार्यक्रमहरु ल्याउनपर्ने सुझाव गाउँपालिका अध्यक्ष उम्मेदवारलाई सहभागीहरुले दिए ।

कार्यक्रममा बोल्दै उम्मेदवार गुरुङले जनताको समस्या समाधानका लागि आफू जहिल्यै तयार रहेको प्रतिवद्धता जनाए । इच्छाकामनाको जनताले चाहे अनुसारको विकास विगतमा नभएको भन्दै उनले जनचाहना अनुसारको विकासमा आफ्नो ध्यान जाने बताए । शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगार, घरेलु उद्योग स्थापना, कृषि प्रवद्र्धन, पर्यटन आफ्नो मूल एजेन्डा रहेको उनले बताए । विकासका लागि पहाडी भुगोल केही अप्ठेरो भएपनि यसलाई आफूहरुले सौन्दर्यको गहनाको रुपमा लिएको उम्मेदवार गुरुङको भनाइ छ ।

‘भौतिक विकास मात्र होइन, जनतामा चेतना, शिक्षा, सीपको पनि विकास आवश्यक छ उनले भने,‘पहाडका जनतालाई गरिव बनाइराख्ने र उनीहरुको नाममा राजनीति गर्ने काम म विजयी भएपछि अन्त्य हुन्छ ।’ यस अघिको स्थानीय सरकारले भौतिक विकासतर्फ पनि उल्लेखनीय प्रगति गर्न नसकेको उनको टिप्पणी छ ।

साथै इच्छाकामनामा भएको गठबन्धन नेताहरुवीच मात्र भएको र त्यो मतदाताले नरुचाएको भन्दै आफू नै सक्षम र बलियो उम्मेदवार रहेको नेता गुरुङको भनाइ छ । अन्तरक्रिया कार्यक्रममा भनाइ राख्दै नेकपा एमाले जिल्ला प्रचार विभाग संयोजक रविकिरण पौडेलले जिल्लाका सातै तहमा आफ्ना उम्मेदवारहरुले चुनाव जित्ने बताए । चेपाङ, जनजाती र आर्थिक विपन्नता भएका अन्य नागरिकको समृद्धिको लागि काम गर्नु पर्ने उनले सुझाव दिए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य नारायणप्रसाद अधिकारी, प्रकाश अधिकारी, चन्द्रमणी सापकोटा, गाउँपालिका सहइन्चार्ज जुनाराज राजभण्डारी, गाउँपालिका पार्टी अध्यक्ष कृष्ण सिलवाललगायतको उपस्थिति रहेको थियो । पालिका उपाध्यक्ष उम्मेदवार र वडाका अध्यक्ष तथा अन्य सदस्यहरुमा उम्मेदवार छान्ने काम अन्तिम चरणमा पुगको गाउँ कमिटि अध्यक्ष कृष्ण सिलवालले जानकारी दिए । सो कार्यक्रममा एमालेबाट उम्मेदवार बनेका वडाध्यक्षहरुको पनि सहभागीता रहेको थियो ।

प्रेस चौतारी चितवनले यसअघि बैशाख ७ गते भरतपुर महानगरपालिकामा एमालेबाट उम्मेदवार बनेका विजय सुवेदीलाई राखेर नागरिकहरुसँग अन्र्तक्रिया गरेर सुझाव संकलन गरेको थियो । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले नागरिकहरु नै शक्ति र विचारका स्रोत भएकोले नागरिकहरुका सुझावलाई लिएर अगाडि बढ्न र नागरिकका अपेक्षाहरुलाई पनि पार्टीको प्रतिवद्धता पत्रमा समेट्न यस्ता कार्यक्रमको आयोजना गरिएको बताए ।

तपाईको प्रतिक्रिया