
गैँडाकोट । गैँडाकोटमा कृयाशिल राजनैतिक दलहरुले बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।निर्वाचन अधिकृतको कार्यालयले नगरका राजनैतिक दलहरुसँग गरेको छलफलका क्रमामा उनिहरुले निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने जनाएका हुन् ।
नेकपा एमालेका नगरअध्यक्ष षडानन्द लामिछानेले आयोगले जारी गरेको आचारसंहिता पालना गर्न आफ्नो पार्टि प्रतिवद्ध रहेको बताउनु भयो । चुनावलाई शान्तिपूर्ण र भयरहित ढंगबाट सम्पन्न गर्न एमालेले सहयोग गर्ने उहाँको भनाई थियो ।
छलफलमा भाग लिदै नेपाली काँग्रेस गैँडाकोटका सभापति बद्रि सापकोटाले आचारसंहिताको पालना गर्न नेपाली काँग्रेस सदैव तयार रहेको बताउनुभयो । निर्वाचनलाई मर्यादित ढंगबाट सम्पन्न गर्नुपर्ने भन्दै उहाँले सबै दलहरु ,मित्रवत प्रतिष्पर्धा गर्दै अगाडी बढ्नुपर्ने बताउनुुभयो ।
कार्यक्रममा नेकपा माओवादी (केन्द्र) का नगर सचिव श्यामसुन्दर लामिछाने, राष्टिय जनमोर्चाका कृष्ण सापकोटा, राप्रपाका जित बहादुर गुरुङ, एकीकृत समाजवादीका मोती वाग्ले लगायतले धारणा राख्दै आचार संहिता उलघंन नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
दलहरुसँगको छलफल कार्यक्रममा धारणा राख्दै निर्वाचन अधिकृत दीपशिखा मुनाकमीले राजनैतिक दलहरुले आचारसंहिता कार्यान्वयन गर्नेमा आफु आशावादी रहेको बताउनुभयो । आचारसंहिता कार्यान्वयन भए नभएको बारेमा आफुहरुले निगरानी गर्ने भन्दै सवैजना अनुशासित भएमा समस्या नआउने बताउनुभयो ।