
चितवन । नेपाल फर्मा एक्स्पो २०२२ आज बाट भरतपुरमा हुने भएको छ । चितवन प्रदर्शनी केन्द्रमा हुने एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने भएको हो ।नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिनको १ बजे एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँका अनुसार एक्स्पो वैशाख ९, १० र ११ गतेसम्म सञ्चालन हुनेछ ।
संघका महासचिव विप्लव अधिकारीले यस पटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अंगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाईएका संवेदनशीलताको बारेमा जनमानसमा सचेतना दिने छ ।” एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उहाँको भनाई छ ।
औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको संघका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक जी नारायणबहादुर क्षेत्रीले बताउनुभयो । उहाँले नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब ९प्रयोगशाला०, मेसिन, कच्चा पदार्थ, प्याकेजिङ्ग लगायतमा भएका विकासहरुको प्रत्येक दुई वर्षमा एक्स्पो गर्दै आएको जानकारी दिनुभयो । सन् २०२१ मा हुने पर्ने एक्स्पो भने कोभिडका कारण हुन सकेन ।
यस पटकको आठौं संस्करणको एक्स्पोमा १६० स्टल रहने छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगहरुका स्टल एक्स्पोमा रहने छन् । एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् ।