×

तिलक रिमाल

चितवन  । निर्वाचनका बेला नेताहरुले ठूला ठूला योजनाका फेहरिस्त सुनाउँछन् । नेताहरुले सोच्छन् ‘ठूला ठूला योजना सुनाएपछि जनता मख्ख हुन्छन्, जनताको मत पाउन सकिन्छ ।’ तर नेकपा एमालेको तर्फबाट भरतपुर महानगरका मेयरका पदका उम्मेदवार विजय सुवेदी योजनाबद्ध विकासमा जोड दिंदै आउनु भएको छ । उहाँले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएर काम योजना अघि सार्नु भएको छ । यस्तै अपेक्षा भरतपुरवासीको पनि पाईएको छ । शिक्षा, चेतना र भविष्यबारे बुझ्न सक्ने बौद्धिक जनताको बसोबास रहेको भरतपुरबासीको अपेक्षा महानगरमा सुशासनसँगै आर्थिक र मानवीय विकासको रहेको छ। उनीहरुले ठूला पूर्वाधार भन्दा पनि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, व्यापार, प्रविधि, आर्थिक, सामाजिकसँगै मानवीय विकासमा विकासमा जोड दिएका छन् ।

प्रेस चौतारी नेपाल चितवनले आज भरतपुरमा आयोजना गरेको “भरतपुरको विकास र समृद्धिः नागरिकको अपेक्षा” विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले ठूला पूर्वाधार विकास हुनु पर्छ भन्ने कसैले आवाज उठाएनन् । सबै क्षेत्रको प्रतिनिधिमूलक रुपमा सहभागीहरुले मानवीय विकासलाई मुख्य रुपमा उठान गरेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका ईश्वरी कडरियाले भूमिको प्रयोग र कर नीति स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले भरतपुरलाई शिक्षा, स्वास्थ्य, व्यापार र औद्योगिक हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । भरतपुरको अर्थतन्त्र के हो भन्ने स्पष्ट हुनुपर्ने बताउँदै उहाँले कृषिमा आधारित उद्योग, गुणस्तरीय शिक्षा र स्वास्थ्य दिन सके भरतपुरको विकास हुन समय नलाग्ने बताउनुभयो ।

चितवन मेडिकल कलेजका निर्देशक डा। दयाराम लम्सालले स्वास्थ्य बीमामा समस्या देखिएकाले यसलाई महानगरले व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले मेडिकल कलेजहरु र भरतपुर अस्पताललाई सुपरस्पेशलिष्ट अस्पताल बनाउनु पर्नेमा जोड दिनुभयो । महानगरको स्वास्थ्य शाखालाई प्रभावकारी बनाउँदै आकस्मिक कक्षमा काम गर्नेहरुलाई तालिम, विपन्न उपचार कोषलाई व्यवस्थित गर्दै महिनाको तीन पटक नियमित अन्तक्र्रिया गर्नुपर्ने उहाँले बताउनुभयो ।

कानुन व्यवसायी राजकुमार श्रेष्ठले महानगरका ऐन कानुन निर्माण गर्दा विज्ञको सुझाव लिएर मात्रै बनाउनु पर्ने सुझाव दिनुभयो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुगेको अनुभूति दिलाउनु पर्ने बताउनुभयो । भरतपुरलाई आर्थिक केन्द्रको रुपमा विकास गर्ने बताउँदै उहाँले महानगरको आर्थिक कुटनीति स्पष्ट हुनुपर्ने सुझाव दिनुभयो । अध्यक्ष श्रेष्ठले महानगरले कति जनसंख्या थेग्छ भन्ने अध्ययन गरेर सोही अनुसार बसोबासको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

प्राध्यापक कपिलदेव सुवेदीले महानगरले लगानीको स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । स्वास्थयकर्मी लिलाधर पौडेलले भरतपुरलाई हेल्थ टुरिजम सिटीको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले योगदानमा आधारित बीमा कार्यक्रम र स्वास्थ्यका जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

पर्यटनविद् डा विश्व सुवेदीले महानगरको बजेट बढाउनु पर्ने, होटल सेवा ऐनलाई समय सापेक्षा सुधार गर्नुपर्ने, पर्यटनलाई कृषि र खेलकुदसँग पनि जोड्नु पर्ने बताउनुभयो । पर्यटकीय होटलहरुमा स्थानीय उत्पादन उपभोग गर्न प्रोत्साहन गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले पर्यटन क्षेत्रमा युवाहरुलाई प्रोत्साहित गर्ने नीति महानगरले लिनुपर्ने सुझाव दिनुभयो ।

पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले पत्रकार मैत्री ऐन कानुन निर्माण गर्नुपर्ने, आमसञ्चार सम्बन्धि ऐन निर्माण गर्नु पर्ने, आमसञ्चार प्रतिष्ठान भरतपुरमा निर्माणका लागि जग्गा उपलब्ध गराउनु पर्ने, पत्रकार महासंघ चितवनको तालिम केन्द्रका लागि जग्गा र आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्ने, पत्रकार फेलोसिप कोषमा वार्षिक बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले जेष्ठ पत्रकार निवृत्तिभरण कोषलाई बृद्धि गर्दै निरन्तरता दिनुपर्ने, महिला पत्रकारका लागि अक्षयकोषको व्यवस्था गर्नुपर्ने, महानगरका मिडिया प्रबद्र्धनका लागि मिडिया कोष स्थापना गर्नुपर्ने, जिल्लाका विज्ञापन जिल्लाकै मिडियालाई भन्ने मान्यता राख्दै महानगरले प्रवाह गर्ने सूचना तथा विज्ञापनलाई जिल्लामै संचालित मिडियाहरुलाई समानुपातिक ढंगबाट वितरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले पत्रकार र स्वरोजगार मिडियालाई सञ्चार उपकरण खरिदका लागि सहुलियतपूर्ण ऋण तथा अनुदानको व्यवस्था गर्नुपर्ने, जिल्लाका व्यवसायिक तथा स्वरोजगार मिडियाहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनु पर्ने, पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि आवश्यक तालिम, भ्रमण र अन्य उपयोगी कार्यक्रम ल्याउनु पर्ने, पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्नुपर्ने र महानगरको सूचना प्रवाह प्रणालीलाई व्यवस्थित गरी सूचनामैत्री बनाउनु पर्नेमा सुझाव दिनुभयो ।

महिला अधिकारकर्मी मन्जु खाँडले पुनस्र्थापना केन्द्रमा रहेका महिला तथा बालबालिकाको जन्मदर्ता, नागरिक, स्वास्थ्य, शिक्षा र रोजगारी महानगरपालिकाले व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
पर्यटन व्यवसायी दिनेश चुकेले गणेशधामलाई थप बजेटको व्यवस्था गर्दै अगाडि बढाउनु पर्ने, रंगशाला निर्माणको काम सम्पन्न गर्नुपर्ने, चौकी डाडालाई पर्यटकीय स्थल बनाउनु पर्नेमा जोड दिनुभयो । महानगरले विकासका काम गर्दा विषय विज्ञको सुझावका आधारमा योजना बनाएर विकास निर्माण अगाडि बढाउनु पर्ने सुझाव उहाँको थियो । उहाँले सहकारीहरुलाई आर्थिक विकासमा जोड्ने योजना महानगरले ल्याउनु पर्ने बताउनुभयो ।

निर्माण व्यवसायी संघका अध्यक्ष केशव लामिछानेले महानगरमा उपभोक्ता समितिमार्फत् काम हुँदा गुणस्तरीय हुन नसकेको बताउँदै सोर्सफोर्सका आधारमा योजना ल्याएर डिजाईन, इष्टिमेट र योजना विना काम अघि बढाउन नहुने बताउनुभयो । उहाँले संघ र प्रदेशबाट आउने योजना महानगरको समन्वयमा हुनु पर्ने सुझाव दिनुभयो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले देवघाट क्षेत्रको योजनाबद्ध विकासमा महानगर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले धार्मिक पर्यटन महत्वपूर्ण रहेको बताउँदै यसको प्रबद्र्धनका लागि ठोस कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।

व्यवसायी शिवराजथ गिरीले डिजिटल कनेक्टीभिटी विकास गर्नुपर्ने, डिजिटल लिटेसी हुनुपर्ने बताउनुभयो । उहाँले टोल विकास संस्थाहरुलाई सवल र सक्रिय बनाउनु पर्ने सुझाव दिनुभयो । उहाँले वर्गीकृत बजार निर्माण, रिसाईकल उद्योगलाई प्रोत्साहन दिनुपर्नेमा सुझाव दिनुभयो ।

कृषि व्यवसायी यज्ञ सुवेदीले महानगरको कृषि शाखा भए नभएका पत्तै नहुने गरेको बताउँदै कतै जमिनको अभाव हुने र कतै बाँझै रहने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले कृषि पर्यटनको विकास गर्नुपर्ने बताउँदै मलको व्यवस्थापन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा स्वास्थ्यकर्मी विष्णुप्रसाद सापकोटा, व्यवसायी रविन्द्र बराल, सीताराम भट्ट, संरक्षणकर्मी छविलाल न्यौपाने, भूमिहिन मनिकुमार लामा लगायतले सुझाव दिनुभएको थियो । उहाँहरुले भूमिहिनहरुलाई निःशुल्क शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्ने छाप्रोरहित महानगर बनाउनु पर्ने, महानगरीय अस्पताल पश्चिम चितवनमा निर्माण गर्नुपर्ने, राप्ती र नारायणीको कटान रोक्दै जग्गा उकास योजना ल्याउनु पर्ने लगायतका सुझाव दिनुभयो ।

कार्यक्रममा शिक्षाविद् समाकान्त सापकोटाले प्राप्त सुझाव महानगरको सम्पत्ति बन्ने बताउनुभयो । उद्योगी डा। तिलचन्द्र भट्टराईले कृषि विश्वविद्यालयलाई कृषकसँग जोड्ने संयन्त्र महानगरले बनाउनु पर्ने बताउनुभयो । उहाँले नेपालकै केन्द्रमा रहेको भरतपुर व्यापारको हबको रुपमा विकास गर्ने पर्ने बताउनुभयो ।

सो अवसरमा भरतपुर महानगरमा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार विजय सुवेदीले महानगरलाई संसारकै सुन्दर सिटीका रुपमा विकास गर्ने बताउनुभयो । उहाँले व्यवस्थित गुरुयोजना बनाएर संसारकै सुन्दर सिटी बनाइने बताउनुभयो ।

उहाँले पहिलो वर्ष गुरुयोजना निर्माण र अभिलेखिकरणमा लाग्ने बताउँदै त्यसपछिका वर्र्ष गौरवपूर्ण भरतपुर बनाउन सबैलाई आव्हान गर्ने बताउनुभयो । महानगरबासीको वायोडाटा लिएर समस्या तत्कालै सम्बोधन गर्ने टास्क फोर्स बनाउने बताउँदै उहाँले स्थानीय सरकार बनिसकेपनि पुरानै अव्यवस्था दोहोरिएकाले त्यसबाट मुक्ति दिलाउँदै व्यवस्था सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गुरुयोजना विना विकास लिकमा हिड्न नसक्ने बताउँदै चितवनका सबैपालिकासँग सहकार्य गरेर चितवनको विकासमा एकरुपता दिन महानगरले नेतृत्व गर्ने बताउनुभयो ।

उहाँले प्रशासनलाई सेवामुखी बनाउने बताउँदै जनतामा आएको निराशा महानगरले हटाउने बताउनुभयो ।नेकपा एमालेका पोलिटब्यूरो सदस्य देवी ज्ञवालीले ज्ञानको स्रोत जनता भएको भन्दै जनताको भावना संकलन गरेर पुनः जनतामै प्रस्तुत हुनुपर्ने बताउनुभयो । उहाँले विजय सुवेदी चितवनको साझा उम्मेदवार भएको बताउनुभयो ।

चौतारीका जिल्ला अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण आचार्यले स्वागत गर्नुभएको थियो भने सचिव मुकुन्द भुषालले संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया