चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वचितवन जिल्ला सभापति टेकप्रसाद गुरुङले भरतपुरको मेयर माओवादीलाई दिने निर्णयप्रति आफ्नो गम्भीर आपत्ति रहेको बताएका छन् ।उनले कांग्रेस चितवनका नेता तथा कार्यकर्ताको भावना विपरित गठबन्धनको निर्णय गरिएको भन्दै त्यसले नतिजा राम्रो नदिने बताएका हुन् ।

नेता गुरुङले भने, ‘केन्द्रीय कमिटीको बैठकको भावना विपरित केन्द्रबाट नै निर्णय गरिएको छ । यो निर्णय मान्न हामी तयार छैनौं । केन्द्रीय कमिटीले नै जिल्लाका नेता कार्यकर्ताको भावना र वस्तुस्थिति हेरेर निर्णय गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको थियो । त्यही निर्णय विपरित जबर्जस्ती गठबन्धन गरिएको छ ।’

उनले जिल्लामा यस विषयमा थप छलफल गरिने आगामी योजनाका बारेमा निचोडमा पुगिने बताए । वडा, पालिका, क्षेत्र र जिल्लाको निर्णयलाई अवमूल्यन गर्दा नतिजा प्रतिकुल आउने उनको भनाइ छ ।आज गठबन्धनको बैठकले भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने निर्णय गरेको छ । माओवादीबाट पुन वर्तमान मेयर रेनु दाहाल उम्मेदवार बन्ने चर्चा छ ।

तपाईको प्रतिक्रिया