चितवन  । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले चितवन कांग्रेसका सभापति राजेश्वर खनाल आज काठमाडौं बोलाएर भेटेका छन् । खनालले र विहान ११ बजे देउवासँग भेट गरेको बताए । ‘सभापतिले बोलाउनुभयो, पार्टी सभापतिले बोलाएपछि म नआउने कुरो भएनँ,’ उनले भने, ‘मैले महानगरपालिका र जिल्ला कार्यसमितिको निर्णय र चितवन कांग्रेसको धारणा स्पष्टसँग सभापतिसमक्ष राखेर जिल्ला फर्किँदैछु ।’

भेटमा प्रधानमन्त्री देउवाले सभापति खनाललाई चुनावी तालमेल गर्दा भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिनुको विकल्प नभएको भन्दै चितवन कांग्रेसको निर्णय बदल्न आग्रह गरेका थिए । तर, सभापति खनालले आफूले कार्यकर्ताको भावनाविपरीत निर्णय बदल्न नमिल्ने भनेको बताए । भरतपुर महानगरपालिकाको मेयरमा अघिल्लो निर्वाचनमा समेत कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेनु दाहाललाई समर्थन गरेका थिए । गठबन्धन गर्दा आलोपालो सिद्धान्तका आधारमा समेत यसपटक भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने स्थानीय नेता कार्यकर्ताको अडान छ । कांग्रेसका महानगर, क्षेत्र र जिल्ला कार्यसमितिहरुले त्यही निर्णय लिएर केन्द्रको ध्यानाकर्षण गराएका थिए ।

‘उहाँले तपाईंहरूको निर्णय बदल्नुप¥यो । तालमेल गर्ने भनेपछि सबै आफैंले मात्रै लिने भन्ने हुँदैन,’ देउवाको भनाइ उदृत गर्दै खनालले भने, ‘मैले जवाफमा कार्यकर्ताको भावनाविपरीत मैले निर्णय गर्न सक्दिनँ भनेँ ।’ उनले आफूहरूले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम स्थानीय अवस्था र आवश्यकताअनुसार तालमेल गरेर अघि बढ्ने निर्णय गरेको र पार्टी केन्द्रले त्यहीअनुसार निर्णय गर्ने अपेक्षा रहेको बताए ।

तपाईको प्रतिक्रिया