विजय सुवेदी, पूर्वअध्यक्ष( भरतपुर अस्पताल )

२०७१ असोजमा २ वर्षका लागि भन्दै तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको मन्त्रीस्तरीय निर्णयबाट म भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएँ । मैले नियुक्तिअघि यस जिम्मेवारीमा जाने विषयमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूलाई जानकारी गराएको थिएँ । उहाँले तपाईंले गर्नुपर्ने धेरै कामहरु छन्, एउटा जिल्ला अस्पतालमा नजान सल्लाह दिनुभयो ।

मैले भरतपुर अस्पताल गएर सुधार गर्ने अठोट सुनाएँ । उहाँले जिल्ला अस्पताल भन्दै गर्दा मैले जिल्ला अस्पतालबाट केन्द्रीय अस्पताल बनाउने सपना संगालेको थिएँ । मेरो निवासबाट केही मिटरको दूरीमा रहेको अस्पताल हो, भरतपुर अस्पताल । म र मेरो परिवारमात्रै हैन, यस जिल्लासहित वरपरका जिल्लाका गरिब, विपन्न बहुसंख्यक जनताको जीवन जोगाउने भरतपुर अस्पताललाई साँच्चै जनताको अस्पताल बनाउने सोच मसँग थियो ।

अस्पताललाई तत्कालीन अवस्थाबाट उठाएर एउटा सुविधा सम्पन्न, बिरामी मैत्री केन्द्रीय शिक्षण अस्पताल बनाउनुपर्दछ भन्ने सुन्दर सपनासहित म अस्पतालमा आएँ । मलाई थाहा थियो, लौरी टेक्ने एक दिन म पनि यहीँ अस्पतालमा उपचार लिन आउनुपर्छ । उस्तै परे यहीँ मर्नुपर्छ । त्यसैले पनि यो अस्पताल बन्नुपर्छ र बनाउनुपर्छ भन्ने लागेर नै म अस्पतालको अध्यक्ष बनें ।

म भनाइमा हैन, कर्ममा विश्वास गर्छु । समाज परिवर्तन गर्न र मुलुकलाई समृद्ध बनाउन राजनीतिक पार्टीबाट मात्र सम्भव छ भनेर हामी सानैदेखि राजनीतिक आन्दोलनमा लाग्यौं । आन्दोलनबाट सफलता पनि प्राप्त भयो तर जनतामा अनुभूति हुने गरी सेवा प्रवाह गर्ने निकायहरुको सुधारमा ध्यान दिन सकेनौं । राजनीतिलाई समाज सेवा र जनताको प्रत्यक्ष सुविधा पाउने तहसम्म जोड्न सकियो भनेमात्रै बल्ल जनतामा परिवर्तनको आभास दिलाउन सकिन्छ ।

म अस्पताल पुग्दा‘

भरतपुर अस्पताल बनाउने उद्देश्यसहित मैले २ वर्षे जिम्मेवारी लिँदा अस्पतालको तत्कालीन अवस्था के थियो भन्ने सन्दर्भ उल्लेख गर्नु यहाँ उपयुक्त होला । अस्पतालको मुख्य गेट सामान्य मानिसहरु आउन जानमात्रै प्रयोग हुन्थ्यो । बिरामी र अन्य सवारीसाधनसहित अस्पतालभित्र प्रवेश गर्न अहिलेको पार्किङतर्फको गेट प्रयोग गरिएको थियो । गेट जीर्ण थियो, जहाँबाट हिँड्दा कुहिएको शवको दुर्गन्ध आउँथ्यो ।

अस्पतालभित्र प्रवेश गर्ने जो–कोहीको पहिलो ‘इम्प्रेसन’ नै के हुन्थ्यो होला तपाईं आफै कल्पना गर्नुस् । बेवारिसे शवको व्यवस्थापन अर्को चुनौती थियो । नारायणी नदीमा बेवारिसे शवहरू फालिएका दृश्यहरू पनि हामीले देखेका थियौं । नजिकका सामुदायिक वन र सरकारी वनमा समेत वेवारिसे शव व्यवस्थापन गर्न नदिने अवस्था थियो । अस्पतालको आकस्मिक कक्ष अति नै जीर्ण र साँघुरो थियो ।

त्यतिबेला लोडसेडिङको चरम चेपटाबाट देश गुज्रिएको थियो । बिजुली जानेबित्तिकै अस्पतालको आकस्मिक कक्ष, अप्रेशन कक्ष र आईसीयूबाहेक अन्यत्र विद्युत हुन्थेन । बिजुली गएपछि मैनबत्ती बालेर बिरामीको सेवामा स्वास्थ्यकर्मीहरु खटिएको मैलै पटकपटक देखें । त्यसले एकदमै बिझायो, दुःखायो । अस्पतालको ‘ए’ ब्लक भवन निर्माण अलपत्र थियो । त्यसलाई पूरा गर्न ठूलो चुनौती थियो । रकम भेरियसन गराएर ७ करोड थप भार अस्पताललाई पार्न खोजिएको थियो । मैले यसमा विशेष पहलकदमी लिएर भवन पनि पूरा गरेरै छाडें भने अस्पतालको थप ७ करोड रुपैयाँ क्षति हुनबाट जोगाएँ ।

‘बी’ ब्लक पूरा भएको थिएन । अत्यन्तै असहज अवस्था थियो । अस्पताल विकास समितिको अध्यक्ष नियमानुसार सेरेमोनियलमात्रै थियो, ‘एक्जुकेटिभ’ थिएन । नीतिगत निर्णयमात्रै गर्न सक्ने अधिकार अध्यक्षलाई थियो । मेडिकल सुपरिटेन्डेन्टलाई आर्थिक र प्रशासनिकसहितको सबै अधिकार थियो । अध्यक्षले चाहेरमात्रै समस्याको समाधान गर्न सक्ने पृष्ठभूमि थिएन । अस्पतालको अवस्था र अस्पताल बदल्ने मेरो सपनाबीच बेमेल देखियो तर म अस्पतालमा धेरै गर्न सकिन्छ भन्ने सकारात्मक सोचबाट लागिरहें ।

अस्पतालमा के थियो र हामीले के गर्यौं ?

 

 

 

भूकम्प पीडितको घाउमा मल्हम

२०७२ साल बैशाख १२ गते विनाशकारी भूकम्पमा परी घाइते भएकाहरुको उपचार भरतपुर अस्पतालले ग¥यो । चितवन, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहँु, मकवानपुर, सिन्धुली, ललितपुर, काठमाडौं, नवलपरासी आदि जिल्लाबाट सयौं घाइतेहरु उपचारका लागि भरतपुर अस्पताल आए । तीमध्ये भरतपुर अस्पतालमा ११२ जना घाइतेको अप्रेशन गरियो । राष्ट्रिय विपत र संकटको बेलामा आएका घाइतेहरुको निःशुल्क उपचार गराई घरसम्म भाडा दिएर पठाउने काम हामीले अस्पतालबाट ग¥यौं ।

अस्पतालमा आकस्मिकबाहेकका अप्रेशनहरूलाई थाती राखी २४ सै घण्टा दिनरात नभनी घाइतेहरुको अप्रेशन गर्ने काम गरियो । छिटो प्रक्रियाबाट अप्रेशनका लागि आवश्यक इम्प्लान्टहरू खरिद गरियो । अस्पतालमा अप्रेशनका लागि सिंगो अर्थोपेडिक विभाग र अन्य चिकित्सकहरू दिनरात नभनी जुट्नु भयो । अस्पतालको जनशक्ति चौबीसै घण्टा अनवरत खटेको सम्झँदा मलाई उहाँहरुप्रति सधैँ सम्मान भाव पैदा हुन्छ । अस्पतालभन्दा बाहिरबाट समेत चिकित्सकहरुको टोली झिकाई भूकम्पका घाइते बिरामीको २४ सै घण्टा अप्रेशन गर्ने व्यवस्था मिलाइयो । भूकम्पका घाइतेहरुलाई यथाशीघ्र भरतपुर अस्पतालसम्म ल्याइदिन हामीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक आह्वान नै गरेका थियौं ।

भरतपुर अस्पतालमा रहेका घाइतेका कुरुवालाई मात्र नभइ २ वटा मेडिकल कलेज, निजी अस्पताल र क्यान्सर अस्पतालहरुमा रहेका बिरामीका कुरुवाहरुलाई पनि निःशुल्क बिहान–बेलुका खाना खुवाउने काम अस्पताल कर्मचारी युनियनको पहलमा गरिएको थियो ।

खुट्टामा परेका फोरा र ‘सी’ ब्लकको सपना

अस्पतालको ‘सी’ ब्लक मेरो एउटा सपना थियो । अलपत्र दुई भवनलाई पूर्णता दिने काम मैले २ वर्षको अवधिमा पूरा गरे तर सी ब्लक बनाउने मेरो सपना २ वर्षे कार्यकालमा पूरा हुने अवस्था थिएन । मलाई ‘सी’ ब्लक भवन निर्माण जसरी पनि सुरु गर्नु थियो, बजेट सुनिश्चित गर्नु थियो । विभिन्न खाले अवरोध, प्राकृतिक विपत्ति, तत्कालीन राजनीतिक अवस्थामा आएको फेरबदल र अध्यक्ष स्वयं सेरेमोनियल पदले गर्दा मेरा लागि काम गर्न अनुकूल पृष्ठभूमि थिएन ।

‘सी’ ब्लक भवनको निर्माण मेरै पालोमा सुरु हुनुपर्छ भनेर म मेरो कार्यकालको ‘इन्जुरी’ समयमा निकै खटें । ‘सी’ ब्लक बन्दा देखिने भरतपुर अस्पतालको सुन्दर चित्र मेरो मानसपटलमा आइरहन्थ्यो । मेरो त्यो सपना आज पूरा भएको छ । डाइग्नोस्टिक ब्लकका रुपमा रहेको ‘सी’ ब्लक भवन झण्डै ५ वर्षमा बन्यो । गएको चैत २५ गते त्यसको उद्घाटन पनि भयो । अस्पतालका धेरैजसो सेवाहरु यहाँ स्थानान्तरण हुने अवस्था तयार भयो ।

यो भवन बनाउँदा गरेको दुःख मेरो मानसपटलमा अझै ताजा छन् । त्यस दिन घडीमा झण्डै बेलुकाको ८।३० बज्दै थियो । स्वास्थ्य मन्त्रालयका तत्कालीन लेखा अधिकृत सुरेश जी आई पुग्नुभयो । म उहाँलाई नै कुरेर बसिरहेको थिएँ । अस्पतालको ‘सी’ ब्लक निर्माणका लागि जसरी पनि टिप्पणी उठाउनु थियो । सामान्यतया सरकारी कार्यालयहरू साँझ ५ बजे नै बन्द हुन्छन् ।

२०७३ असोज २ गते स्वास्थ्य मन्त्रालयको लेखा शाखामा पुग्दा नै साँझ ५ बजिसकेको थियो । मसँग भरतपुर अस्पतालको अध्यक्ष भएर बसिरहने पर्याप्त समय थिएन । सुरेश जीलाई पहिल्यै फोन गरेर विषयका बारेमा जानकारी गराएकोले उहाँ आउनुभयो । मेरो वचन हार्न सक्नुभएन । उहाँ आएर भन्नुभयो, ‘विजयजी आज धेरै ढिला भयो । भोलि सुरु समयमा नै टिप्पणी लेखौंला ।’ मैले आज नै टिप्पणी लेख्नुपर्छ भनेर जिद्दी गरें । परिस्थितिको बारेमा जानकारी गराएँ ।

भरतपुर अस्पतालको जीवनमा ‘सी’ ब्लक भवनको महत्व दर्शाएँ । यसअघि अस्पतालको ‘ए’ ब्लक भवन र ‘बी’ ब्लक भवन निर्माणमा आवश्यक सबै प्रक्रिया पूरा नगरेकै कारण भोग्नुपरेको सास्ती ‘सी’ मा नदोहोरियोस् भन्नेमा सचेत थिएँ । काठमाडौंमा नै बसेर सिंहदरवार र स्वास्थ्य मन्त्रालय झण्डै १५ दिन धाउँदा मैले खुट्टाभरि टेक्नै नमिल्ने गरी फोराहरू उठाएको छु ।

 

त्यस साँझ मेरो अनुरोधलाई टार्न नसकेपछि सुरेशजीले टिप्पणी उठाउनुभयो । हामी राति साढे ९ बजे मन्त्रालयबाट छुट्टियौं ।

असोज ३ गते बिहान १० बजे तत्कालीन उपसचिव विष्णु तिमिल्सेना लेखा शाखामा आउनुभयो । लागत इस्टिमेट स्वीकृत गरी ‘सी’ ब्लक निर्माणका लागि टेन्डर प्रक्रियामा जान सिफारिस दिनुभो । दिउँसो ३ बजे सहसचिव रामशरण चिमोरियाले आन्तरिक प्रशासन शाखामा आएर टिप्पणी सदर गरी स्वीकृतिका लागि सचिवकहाँ पठाउनुभयो ।

मध्यान्न ४ बजे सचिव डा। सैनेन्द्र उप्रेती कार्यकक्षमा आउनुभयो । उहाँले सुरुमा टिप्पणी सदर गर्न हिच्किचाउँदै भन्नुभयो, ‘यो कसरी मिल्छ अहिले रु’ सँगै रहनुभएका सहसचिव चिमोरियाले भन्नुभयो, ‘यसको सबै प्रक्रिया पुगेको छ । फाइल स्वीकृत गर्नुभए हुन्छ ।’ चिमोरियाले थप्नुभयो, ‘कुनै समस्या परे सामूहिक जिम्मेवारी लिउँला ।’

सहसचिव चिमोरियाले यसो भनेपछि सचिवले फाइलमा हस्ताक्षर गरी बोलपत्र आह्वान गर्न भरतपुर अस्पताललाई अधिकार प्रत्यायोजन गर्नुभयो । डा।उप्रेतीले भरतपुर अस्पतालकै पूर्वमेडिकल सुपरिटेन्डेन्ट भएर कार्य गरिसक्नुभएको थियो । मेरो विचारमा सायद भरतपुर अस्पतालको फाइल यति छिटो अघि बढ्दा कतै प्रक्रिया पुगेको छैन कि भन्ने त्रास उहाँमा थियो । बोलपत्र आह्वान गर्ने स्वीकृतिपछि असोज ६ गते तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाबाट ‘सी’ ब्लक भवनको शिलान्यास भयो । उहाँले सुरुमा बोलपत्र नै सार्वजनिक नभएको अस्पतालको भवनको शिलान्यास गर्न आनाकानी गर्नुभयो । पछि हाम्रो कामप्रतिको विश्वास र लगनशिलता देखेर उहाँ शिलान्यास गर्न तयार हुनुभएको थियो ।

यसको आधारमा स्वास्थ्य मन्त्रालयबाट सिफारिस लिइ तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको कार्यकालमा अर्थ मन्त्रालयबाट ‘सी’ ब्लक भवनका लागि आवश्यक बजेट २९ करोड रुपैयाँ सुनिश्चित गरिएको थियो । भवन शिलान्यासको झण्डै डेढ वर्षपछि मात्रै ‘सी’ ब्लक भवनको निर्माण प्रक्रिया अघि बढ्यो । ढिला गरी यो भवन पूरा भएको छ । योसँगै मेरो एउटा सपना पनि पूरा भयो । अस्पतालको आकस्मिक भवन र सरूवा रोग अस्पताल भवन बनिरहेका छन् । अस्पतालले अझै विकास गर्दै जाओस् । अस्पतालबाट बिरामीहरू खुसीसाथ निको भएर जान सकून् । मेरो शुभकामना !

(भरतपुर अस्पतालका पूर्व अध्यक्ष सुवेदी एमालेबाट भरतपुर महानगरपालिका प्रमुखमा सिफारिस भएका छन्)

तपाईको प्रतिक्रिया