
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि वैशाख २ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ।संस्थाले चुक्तापुँजीको ३२.५० प्रतिशतले हुन आउने ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ।जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्नेछ।
कुल कित्तामध्ये जारी पुँजीको ०।५ प्रतिशतले हुन आउने ६ हजार ८२ कित्ता सेयर कर्मचारीमा र ५ प्रतिशतले हुन आउने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरी बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिनेछ।यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। आवेदन दिने म्याद छिटोमा वैशाख ६ गते बैंकिङ समयपछि समाप्त हुनेछ। यो अवधिसम्म पनि मागबमोजिम आवेदन नपरेको खण्डमा वैशाख १६ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।
सिवाईसी नेपालको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ।यो आईपीओलाई धितोपत्र बोर्डले गत चैत ९ गते निष्कासनको अनुमति दिएको थियो। आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
चुक्तापुँजी ७ करोड रुपैयाँ र रिजर्भमा २० करोड रुपैयाँ बढी रहेको छ। अबको ३ वर्षमा अर्थात आर्थिक वर्ष २०८०/८१ मा रिजर्भको आकार बढेर ४५ करोड ६९ लाख रुपैयाँ पुग्ने संस्थाको प्रक्षेपण रहेको छ।आव २०८०र८१ सम्म संस्थाको प्रतिसेयर आम्दानी ईपीएस ७७.३६ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। चालु आव २०७८/७९ मा ईपीएस ५८.९३ रुपैयाँ रहने अनुमान गरिएको संस्थाको आव २०७९/८० मा ६५.९२ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ।त्यस्तै आव २०८०/८१ मा संस्थाको प्रतिसेयर नेटवर्थ ४७५.६८ रुपैयाँ पुग्ने अनुमान गरिएको छ। चालु आव २०७८/७९ मा प्रतिसेयर नेटवर्थ ३३२.४० रुपैयाँ र आव २०७९/८० मा ३९८.३२ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ।