
चितवन । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको तयारीमा रहेका सत्तारुढ गठबन्धनमा तालमेलको मापदण्डबारे सहमति जुटेसँगै भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रकै भागमा पर्ने निश्चित छ । माओवादी केन्द्रले भरतपुरमा वर्तमान मेयर रेणु दाहाललाई नै पुनः उम्मेदवार बनाउन चाहेको छ ।
उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने भन्दै चितवन कांग्रेसका नेता कार्यकर्ताहरुले विद्रोहको चेतावनी दिएपनि गठबन्धन नेतृत्वले त्यसलाई नजरअन्दाज गरेको छ ।
गठबन्धनका बैठकहरुमा नियमित सहभागी नेताहरुका अनुसार भरतपुर महानगरको मेयर माओवादीले नै राख्ने निश्चित भइसकेको छ । तल्लो तहमा जति नै विरोध भएपनि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भरतपुरमा रेणुलाई नै पुनः मेयर बनाउने सहमति बनिसकेको छ ।
‘भरतपुरको मेयर कांग्रेसले नपाउने निश्चित भइसक्यो । गठबन्धनले बनाएको मापदण्डले पनि यसअघि माओवादीले जितेको भरतपुरमा कांग्रेसको दाबी कमजोर भइसकेको छ । सभापतिले प्रचण्डलाई वचन दिइसक्नुभयो’, कांग्रेसका एक नेताले भने ।
ती नेताका अनुसार चितवनमा कांग्रेसको तर्फबाट हुनसक्ने विद्रोहलाई राजनीतिक रुपमा व्यवस्थापनको प्रयास भने गरिनेछ । ‘अहिले चितवनमा कांग्रेसले एउटा गाउँपालिकामात्रै जितेको छ । भतरपुरमा कांग्रेसबाट मेयर बन्न २५ जनाले आकांक्षा देखाएका छन् ।
कांग्रेस सभापति देउवाले केन्द्रीय समितिको बैठकमा चितवनमा एक्लै लडेर कांग्रेसले नजित्ने दाबी गरेका थिए । चुनावी तालमेल भएपनि भरतपुरको मेयर नछाड्न चितवन कांग्रेसका नेताहरुले सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पदाधिकारीलाई भेटेर माग गरेका थिए ।निरन्तरको आग्रहका बावजुद भरतपुरमा कांग्रेसले मेयर नपाए अन्तरघात र बागी उम्मेदवारीको अधिक सम्भावना देखिन्छ ।