गैँडाकोट । राष्ट्रिय युवासंघ नेपाल गैँडाकोटले नगरका १६ वडाहरुमा कमिटी गठन गरेको छ । आक्रामक रुपमा संगठन विस्तारमा जुटेको राष्ट्रिय युवासंघले शनिवारसम्म १६ वडाहरुमा कमिटी गठन गरेको नगर अध्यक्ष विनोद कंडेलले जानकारी दिनुभयो ।
शनिवार गैँडाकोट नगरपालिका वडा नं.७ र १६ मा कमिटी गठन गरिएको छ । गैँडाकोट वडा नं. ७ मा सुरज सापकोटाको संयोजकत्वमा ३५ सदस्यीय र वडा नं. १६ मा महेश्वर सापकोटाको संयोजकत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरिएको उहाँले बताउनुभयो ।
कमिटी गठन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुुभएका नेकपा एमालेका युवा नेता दिनेश न्यौपानेले आँउदो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले गैँडाकोटमा हाँसिल गरेको विरासतलाई जोगाउन युवाहरु एक भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले सबै वडाहरुमा कमिटी गठनको काम अन्तिम चरणमा पुगेको भन्दै अव निर्वाचन केन्द्रित भएर लाग्न निर्देशन दिनुभयो ।राष्ट्रिय युवासंघ नेपालका नगर अध्यक्ष विनोद कंडेलले वडा कमिटीमा निर्वाचित हुने सबैलाई बधाई दिदै अवको डेढ महिनासम्म युवाहरु दिनरात नभनी संगठन निर्माणमा जुट्ने बेला आएको बताउनुभयो ।
एमालेको नेतृत्वमा नगरमा भएका परिवर्तन र विकासका बारेमा सबैलाई सुसुचित बनाउँदै घरदैलोमा जुट्न तयारी अवस्थामा लाग्न आग्रह गर्नुभयो । नगरको वडा नं. १ र वडा नं.६ मा केहिदिन भित्रमा कमिटी गठन गर्ने तयारी रहेको समेत उहाँले बतानुभयो ।