
गैँडाकोट । नवलपरासी पूर्व गैँडाकोट ९ थुम्सी स्थित शिखरखजुराव शैलीको भव्य एवं कलात्मक श्री हनुमान मन्दिरको समुद्घाटनरलोकार्पण, मूर्तिप्राणप्रतिष्ठा तथा सा∙ विराट् ज्ञानमहायज्ञ महामहोत्सव २०७८ हुने भएको छ ।शनिबार मन्दिर प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा श्री हनुमान मन्दिर चक्रघाट समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक टिकाराम सापकोटाले यहि चैत्र २७ गते रामनवमीदेखी वैशाख ३ गते श्री हनुमान जयन्तीका दिनसम्म महामहोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँले नेपालकै पहिलो, भव्य र कलात्मक मन्दिर रहेको दावी गर्दै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सबैलाई सहयोगका लागि आह्वान गर्नुभयो ।महायज्ञ मूल आयोजक समितिका महासचिव एवं मन्दिरका सहसचिव पिताम्बर सापकोटाले २०४२ सालदेखी पूजा अर्चना गरिदै आएकोमा हाल ४२ फुट लम्बाइ, ४२ फुट चौडाइ र ६३ फुट उचाइ भएको मन्दिर निर्माण गरिएको जानकारी दिनुभयो ।
श्री हरिहर सन्न्यास आश्रम परमानन्द–संस्कृत गुरुकुलम्, देवघाटधामका पिठाधिश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले मन्दिरको समुद्घाटन गर्ने उहाँले जानकारी दिनुभयो । महायज्ञमा डा। बलराम ब्रह्मचारीज्यूले कथा प्रवचन गर्ने बताउनुभयो ।
मन्दिर निर्माण समितिका संयोजक ओमप्रसाद सापकोटाले शुरुवाती अवस्थामा १ करोड ५ लाखको लागतको नक्साङ्कन भएपनि पछि सबैको राय अनुरुप करिब ३ करोड लागतमा मन्दिर लगायतका संरचना निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले अहिले ऋण नरहेको जनाउँदै मन्दिर व्यवस्थापनका केही काम बाँकी रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा गँैडाकोट ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटाले यसलाई धार्मिक, आध्यात्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गरी गैँडाकोटको धार्मिक महत्त्वलाई प्रवर्धन गरिने बताउनुभयो । देशकै मध्ये भागमा अवस्थित यो मन्दिर पूर्व पश्चिम राजमार्ग क्षेत्रमा पर्ने एकमात्र भव्य हुनमान मन्दिर रहेकोले यो पर्यटकीय गन्तव्य रहेको उहाँको भनाई थियो ।मन्दिरका संरक्षक पवनकुमार अग्रवालले मन्दिरमा एक करोड बराबरको अक्षयकोष निर्माण गर्नुपर्नेमा जोड दिदैँ मसिक रुपमा रकम उपलब्ध गराउने बताउनुभयो ।
मन्दिरका उपाध्यक्ष बालुराम कुमालले स्वागत मन्तव्य व्यक्त गर्दै मन्दिर परिसरमा १०० जना सम्म अट्ने धर्मशाला निर्माण कार्य चलिरहेको बताउनुभयो ।सङ्कटमोचन श्रीहनुमानजीको दिव्यमूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखरखजुराव शैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार, स–साना गुम्बज आकारका मार्वल रेलिङ, मार्वलकै आँखीझ्याल, सिँढी तथा आकर्षक विद्युत व्यवस्थापन र रङ्गरोगन यस मन्दिरका दर्शनीय पक्षहरु हुन् ।
श्री हनुमान मन्दिर समिति चक्रघाटको शुभसङ्कल्प, विभिन्न निकाय र जनसहभागितामा करिब ३ करोडको लागतमा शिखरखजुराव शैलीको मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माणका लागि चन्दाबाट १ करोड ६४ लाख, पटक पटक गरी गैँडाकोट नगरपालिकाबाट ३१ लाख, वडाबाट २ लाख, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट १५ लाख, प्रदेश सांसद कोषबाट ५ लाख, संघीय सांसद कोषबाट १० लाख, मारवाडी नारायणगढबाट २१ लाख, नारायणी सामुदायिक वनबाट ७ लाख लगायत विभिन्न दाताले सहयोग गरेका छन् ।महामहोत्सवको तयारीका लागि महायज्ञ मूल समिति र विभिन्न कार्यसम्पादनका लागि २३ वटा उप समिति गठन गरिएको जनाउँदै प्रचार प्रसार समितिका संयोजक ज्ञानप्रसाद खनालले महायज्ञ सफल बनाउन सबैलाई आह्वान गर्नुभयो ।