चितवन । एभरेष्ट बियर उत्पादन गर्ने भरतपुरको माउन्ट एभरेष्ट ब्रुअरी लिलाम हुने भएको छ । बैंकले दिएको विकल्प नमानेपछि चार वटा बाणिज्य बैंकहरुले ब्रुअरीलाई लिलामीमा राखेका हुन् ।

ब्रुअरीलाई २०७२ सालअघि पनि ऋण तिर्न नसकेर बैंकहरुले पुनर्संरचना गरिदिएका थिए। पुनर्संरचनापछि पनि कम्पनीले ऋण तिर्न छाडेको र ऋण तिर्ने अर्को विकल्पसमेत नमानेपछि सहवित्तीयकरणमा ऋण लगेको कम्पनी लिलामीमा चढेको हो। माउण्ट एभरेष्ट ब्रुअरीको प्रमुख सञ्चालक दमनबहादुर अमात्य हुन्। उनले कम्पनीका लागि नेपाल बैंकको नेतृत्वमा चार बैंकसँग ऋण लिएका छन् ।

नेपाल बैंकसहित राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक र हिमालयन बैंकले कम्पनीमा ऋण लगानी गरेका छन् । कसैगरी पनि पैसा नउठ्ने भएपछि बैंकले लिलामी प्रकृया अगाडि बढाएको हो। बैंकले २०७२ सालमा ६० करोड रुपैयाँ एकमुस्ट तिर्ने गरी ऋण पुनर्संरचना गरिएको थियो। जुन सर्तमा ऋण पुनर्संरचना गरिएको थियो त्यो कुरा त्यसबेला पनि पालना भएको थिएन। अमात्यले ६ करोड रुपैयाँ मात्र बैंकलाई बुझाएका थिए।

उनले बाँकी रहेको ५४ करोड रुपैयाँको ब्याज मात्र भुक्तानी गर्दै आएका थिए। चार बर्षअघिबाट त्यो पनि उनले छाडेका थिए। बीचमा कोभिडलगायत समस्या आएपछि लिलामी प्रकृया अगाडि बढाउन बैंकहरुले सकेका थिएनन्। अहिले बैंकको साँवा मात्र ४५ करोड रुपैयाँ छ। पाकेको ब्याजको हिसाब छुट्टै छ। अहिले पनि माउन्ट एभरेष्ट ब्रुअरीको उत्पादन जारी छ।

अहिले पनि हामीले बैंक ऋण बुझाउन केही मोडालिटी दिएका थियौं तर कम्पनीका सञ्चालकहरु हाम्रो कुरा मान्न तयार नभएपछि अन्तत: लिलामीमा चढाउनु पर्ने भयो सहवित्तीयकरणमा रहेका एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, “बैंकसँग भएको धितो लिलाम गर्दा पैसा उठ्ने देखिन्छ।”

बैंकहरुले माउन्ट एभरेष्ट ब्रुअरीलाई अहिलेसम्मको ब्याज बक्यौता भुक्तानी गर्ने र ऋणलाई नियमित गर्ने विकल्प दिएका थिए। बैंकहरुले साँवा मध्ये केही तिन बर्षभित्र भुक्तानी गर्न पनि विकल्प दिएका थिए।

कुनै पनि विकल्पमा अमात्य तयार नभएपछि लिलामीमा चढाउनु परेको बैंकरको दाबी छ। अमात्यले ऋण तिर्ने समय ८ बर्ष र अहिलेसम्म भुक्तानी गर्न नसकेको ब्याज मिन्हा गर्न बैंकसँग माग राखेका थिए। “यस्ता सर्त पूरा गर्नै नसक्ने भएपछि लिलामीमा गएका हौं” ती प्रमुख कार्यकारीले भने, “अब लिलामीबाटै सबै कुरा छिनोफानो हुन्छ।”

बैंकले कम्पनीको नाममा रहेको भरततपुर गोन्द्राङस्थित फ्याक्ट्रीको जग्गा लिलामी गर्न लागेको हो। त्यहाँ फ्याक्ट्रीको ४ विघा ५ कट्ठा साढे नौं धुर जग्गा छ।लिलामीमा सहभागिता जनाउन ३५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ। के कति मूल्यमा लिने हो, त्यो खुलाएर आवेदन दिन सकिने नेपाल बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया