
काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी यसको उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रू.८४ करोड ६५ लाखमा दुई सेट रेल खरीद गरिएको थियो । खरीद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो ।पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आएपनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको छ । यो रेल सेवा शुरु भएसँगै नेपालको रेल यातायाततर्फको अर्को यात्रा शुरु हुनेछ ।
शनिवार रेल गाडीमा दुबै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ जाने रेल विभागका प्रवक्ता ९सिनियर डिभिजनल इञ्जिनीयर० अमन चित्रकारले जानकारी दिए । अन्तरदेशीय रेल सेवाका रुपमा सञ्चालन हुने रेलमार्गमा जकनकपुर आएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलगायतका व्यक्ति कुर्थासम्म जाने कार्यक्रम छ । उनी कुर्थासम्म पुगेर फर्किएर जनकपुर आउनेछन् भने रेल पुनः जयनगर जाने उनले जानकारी दिए । उनले भने, ‘रेलगाडीले स्वागत गरेर कुर्थासम्म जानेछ ।’
शनिवार उद्घाटन भएपछि आइतवारदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए । उनका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०: ३० र ५:१५ मा अर्कौ रेल छुट्ने उनले जानकारी दिए । उनले भने, ‘आइतवारबाट नै नियमित रुपमा रेल चलाउन हाम्रो तयारी पूरा भइसकेको छ ।’