चितवन ।  भरतपुर महानगरपालिकाको वडा नम्बर ३ मा नारायणी नदी किनारले नगरको फोहोरबाट केही मुक्ति पाए पनि व्यवस्थापन गर्न सकेको छैन।नारायणीमा आउने बाढीले किनारमा खाल्डो बनाइदिएको थियो। हिउँदमा भने त्यहाँ वस्तुभाउलाई खुवाउने घाँस पलाउँथ्यो। वस्तुभाउको चरन हुन्थ्यो। ठाउँ सफा र सुन्दर देखिन्थ्यो।यस्तो दृश्य धेरै टिक्न सकेन।भरतपुर महानगरले नगरको फोहोर त्यही चरन क्षेत्रमा फाल्न थाल्यो। नारायणगढ बजार, मन्डी, अस्पताल, कार्यालय लगायतबाट निस्कने फोहोर त्यही फाल्न थालियो। यसबाट नजिकका बासिन्दालाई ठूलो समस्या भयो।

कुहिने र नकुहिने दुवै फोहोर महानगरले त्यहाँ फालिदिँदा घरको ढोका समेत बन्द गरेर बस्नुपर्ने अवस्था भयो। कुकुर र कागले त्यहाँको घरमै पुर्‍याउन थाले। यसपछि नजिकका बासिन्दाले महानगरलाई फोहोर नफाल्न आग्रह गरे। गन्ध मार्ने रसायन र कीटनाशक विषादी त प्रयोग गर्‍यो तर फोहोर फाल्न छाडेन।

बर्खामा बाढीले बगर हुने त्यो ठाउँमा हिउँदमा घाँस पलाउँथ्यो। गाईभैंसी चर्थे। फोहोर फाल्न थालेपछि गाईभैंसी चर्दै फोहोरको थुप्रोमा पुग्न थाले, स्थानीयबासी सूर्य बरालले भने, हस्पिटलबाट निस्कने फोहोरले वस्तुलाई असर पुर्‍यायो। फोहोरकै कारण पहिला एउटा ब्राखो र पछि एउटा भैंसी मर्‍यो।

नदी किनारमा फोहोर फाल्नु अपराध हो भन्छन् बराल। नदी किनारका बासिन्दाले विरोध त गरे तर त्यतिन्जेलमा फोहोरको पहाड नै बनिसकेको थियो।फोहोर फाल्न रोक्ने र प्राकृतिक वातावरण पुनर्स्थापित गर्ने उद्देश्यले केही स्थानीय बासिन्दा र संसरीमाई नगरवनमार्ग आमा समूहले फोहोरको पहाडमाथि पार्क बनाउन महानगरसँग प्रस्ताव राखे।प्रस्ताव स्वीकृत भयो।

महानगरले २०७१ सालमा चार लाख रूपैयाँ बजेट दियो।पार्क बनाउन अग्रसरहरूले एघार सदस्यीय उपभोक्ता समिति बनाए। महानगरले दिएको बजेटबाट फोहोरमाथि माटो थुपार्न थालियो।फोहोरको थुप्रोमा माटो र गिटी राखेर बाटोसँग सतह मिलाइयो। फोहोरले छोपिएको माटोमा बगैंचाको संरचना बनाइयो। यसरी पहिलेको फोहोरमाथि पार्कको हरियाली देखियो।

आमा समूहकी सदस्य रमा तिमल्सिनाका अनुसार पार्क बनाएपछि फोहोरको गन्ध आउन छाडेको छ। नजिकका बासिन्दाहरू पार्कमा घुम्न निस्किन्छन्, तस्बिर खिच्छन्। कहिलेकाहीँ पिकनिक पनि मनाउँछन्।पार्कले घुमफिर र मनोरञ्जनका लागि केही सुविधा भए पनि आगन्तुकहरूले पार्कमै र नदीमा फोहोर फाल्ने गरेका छन्। नजिकै बस पार्किङ पनि छ। फेरि बिस्तारै पार्कमा फोहोर जम्मा हुन थालेको छ।

पार्कनजिकै बोतल, प्लास्टिकका थाल र गिलास लगायतको फोहोर जम्मा भएको छ। पार्कमा आउनेले मात्रै नभएर वरपरका मानिसहरूले पनि नदी किनारामा फोहोर फाल्ने गरेको तिमल्सिना बताँउछिन्।पार्कको समितिले नै फोहोरमैला व्यवस्थापन गर्न नसकेको स्थानीय बासिन्दा इन्द्रबहादुर गुरुङको आरोप छ।उनी भन्छन्, पार्कमा तलब दिएर कामदार राखिएका छन्। त्यहाँ उनीहरूले फोहोरमैलाको व्यवस्थापन गर्नुपर्ने थियो तर गर्दैनन्।

माटोले पुरिएको फोहोर कुहिएर पार्क भासिँदै गएको पनि गुरुङको भनाइ छ।पार्क उपभोक्ता समितिका सदस्य उमानाथ तिमल्सिना पार्कमा जम्मा हुन थालेको फोहोर व्यवस्थापन गर्न नसकेको स्वीकार गर्छन्। महानगरले फोहोर उठाउन सहयोग नगरेको उनको आरोप छ।

भन्छन्, महानगरले पार्कमा बोटबिरूवा रोप्न बजेट दियो। तर अन्य कामका लागि बजेट नभएकाले व्यवस्थापन हुन नसकेको हो।अव्यवस्थित फोहोरले जमिन र जल दुवैलाई प्रदूषित बनाउँछ, त्यहाँका जीवहरूलाई असर गर्छ। नारायणी नदी किनारमा फालिएका फोहोरले वरिपरिको वातावरण र जनस्वास्थ्यमा असर परेको भुक्तभोगीहरू बताउँछन्।

हाल भरतपुर महानगरले पार्कको पारिपट्टि नगरवनको जंगलभित्र फोहोर फाल्ने गरेको छ। महानगरले फोहोरमैलाको व्यवस्थापन गर्न नसकेको नगरबासीको आरोप छ। नगरवनमा फालिएको फोहोरले जंगली जनावरलाई र घरपालुवा जनावरहरूको चरन क्षेत्रमा प्रत्यक्ष असर परेको उनीहरूको भनाइ छ।

महानगरले नारायणी नदी किनारलाई ुसी बीच मोडलु मा व्यवस्थित गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखे पनि कार्यान्वयन गर्न सकेको छैन। नगरबासीहरूका अनुसार नगरको फोहोर नारायणी नदी किनारमा फाल्न थालेको करिब १५ वर्ष भयो।

नगरवन जंगल क्षेत्र चितवन राष्ट्रिय निकुञ्जभित्र पर्दैन तर निकुञ्जका कतिपय जीवजन्तु चर्दै त्यहाँसम्म आइपुग्छन्। अहिले नगरवनमा फोहोरको पहाड बनेको छ। महानगरले सुख्खा मौसममा मात्रै नगरवनको जंगलभित्र फोहोर फाल्छ। वर्षातमा बढ्ने नदीको वहावले वनक्षेत्रमै फोहोर किनारा लगाउँछ।

नगरवनमा बाघ, गैंडा, चितुवा, रतुवा लगायत जंगली जनावर पाइन्छन्। जंगलमा थुपारिएको फोहोरले यी जनावरहरूलाई असर परेको राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका प्रमुख तथा गैंडा संरक्षणका जानकार डा। बाबुराम लामिछानेको भनाइ छ।

नगरको फोहोर जंगलमा फाल्नुको मुख्य असर गैंडालाई पारेको लामिछाने बताउँछन्।उनी भन्छन्, चर्दा र पानी खाँदा फोहोरले जनावरलाई असर पुर्‍याउँछ। दुर्गन्धित पानीले गैंडालाई टक्सिल म्याटर भन्ने रोग लाग्छ।उनका अनुसार फोहोरका कारण नदीमा पाइने माछा, डल्फिन र घडियाल गोहीको संख्या पनि घट्न थालेको छ। बाघ नदीमा पानी पिउन आएको देखिन छाडेको छ।

फोहोरले गर्दा नदीमा बस्ने गोही, डल्फिन र पानी खान नदीमा पुग्ने वन्यजन्तुमा गम्भीर असर परेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षणविद् तथा गोहीविज्ञ वेद खड्काको भनाइ छ।खड्का भन्छन्, २०७६ सालमा नारायणी नदीमा एक सय घडियाल छाडिएका थिए। त्यसअघि थोरै समयमा एक दर्जन गोही मरेका थिए। फोहोरले गर्दा गोहीको आहार सञ्जालमा पनि समस्या भएको छ।गत वर्ष नारायणी नदीमा ५० वटा घडियाल छाडिएका थिए।

फोहोर फालिएको ठाउँमा रूखहरू पनि सुक्दै गएको डिभिजन वन कार्यालयका प्रमुख पदम नेपालले बताए। डिभिजन वन कार्यालयले वनमा फोहोर नफाल्न आग्रह गरे पनि सुनुवाइ नगरेको उनको भनाइ छ। जंगलमा फालिएको फोहोरका कारण वन्यजन्तु ओहोरदोहोरमा पनि असर परेको उनले बताए।

अस्पतालहरूको फोहोर पनि जंगलमै फाल्नाले जनस्वास्थ्य र जीवजन्तुमा पनि गम्भीर असर पर्न सक्ने बराल बताँउछन्। फोहोरका कारण खानेपानीमा पनि समस्या देखिएको छ। एक जना स्थानीय बासिन्दाका अनुसार केही घरमा धाराबाट पहेँलो पानी आउन आउन थालेको छ। खानेपानीको पाइप नगरवन हुँदै आउँछ।पहेँलो पानी आएपछि २५ घरधुरीका लागि शुद्ध खानेपानीको व्यवस्था गरेको वडा नम्बर ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले बताए।

ल्यान्डफिल साइट निर्माणका लागि नेपाल सरकारले भरतपुर–२ स्थित जलदेवी सामुदायिक वनको १६ बिघा जमिन उपलब्ध गराएको छ। महानगरको वातावरण शाखाका प्रमुख विराट घिमिरेका अनुसार महानगरको गौरवका आयोजनामध्ये ल्यान्डफिल साइट पनि एक हो। ल्यान्डफिड साइट निर्माणका लागि कोरियन सरकारको आर्थिक अनुदान पर्खेको उनको भनाइ छ।कोरियन सरकारले सम्झौता भएको पहिलो चरणमा भरतपुर महानगरको फोहोमैला व्यवस्थापनबारे अध्ययन गरेको थियो। यससम्बन्धी सबै रिपोर्ट र योजना कोरियाली सरकारले महानगरलाई हस्तान्तरण गरिसकेको घिमिरेले बताए।

उनका अनुसार नेपाल सरकार र कोरियाली सरकारबीच भरतपुर महानगरका लागि ल्यान्डफिल साइट बनाउने अनुदानसम्बन्धी प्रक्रिया अन्तिम चरणमा छ। निर्माणको कुल लागत १ अर्ब २५ करोड रूपैयाँ हुनेछ। ल्यान्डफिल साइट निर्माण नभएकाले बाध्य भएर नगरवनमा फोहोर फाल्नु परेको घिमिरेको भनाइ छ।फोहोर व्यवस्थापन समूहका एक सदस्य देवीप्रसाद घिमिरेका अनुसार भरतपुर महानगरमा दैनिक कम्तीमा ६२ टन फोहोर निस्कने गरेको छ।

एक गैरसरकारी संस्थाले भरतपुर महानगरमा फोहोरमैला व्यवस्थापनसम्बन्धी अध्ययन गरेको थियो। त्यसअनुसार महानगरका ४० प्रतिशत बासिन्दाले कुहिने र नकुहिने दुवै घरायसी फोहर महानगरलाई जिम्मा लगाउने गरेका छन्। बाँकी ३९ प्रतिशतले कुहिने फोहोर करेसाबारीमा प्रयोग गर्ने गरेका छन्। करिब १२ प्रतिशतले आफ्ना गाईवस्तुलाई खुवाउने गरेका छन्। सेताेपाटीबाट 

तपाईको प्रतिक्रिया