बुटवल । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार नालायक भएको आरोप लगाएका छन् ।कपिलवस्तुको तौलिहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई नालायकहरुको सरकारको संज्ञा दिएका हुन् ।

नेपालको विजुली भारतलाई ४ रुपैयाँमा बेचेर, भारतसँगै ३८ रुपैयाँमा किनेर त्यो विजुली ९ रुपैयाँमा जनतालाई बेचेर भार थोपर्नु सरकारको नालायकी भएको उनले टिप्पणी गरे ।सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसलाई कुनै जमानाको बलियो साँढे भन्दै ओलीले अहिले वैशाखी खोजेर हिड्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरे ।

कुर्सीमा बसेर नै संवोधन गरेका ओलीले सबै दल मिलेर आए पनि एमालेलाई हराउन नसक्ने दावी गरे । एमाले प्रवेश गर्नेहरुको देशव्यापी जनलहरले एमालेको शक्ति प्रष्ट भएको ओलीले बताए ।

बृजेशकुमार गुप्तासहितका नेता एमाले प्रवेश

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता, प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तव, कपिलवस्तु नगपालिका– १ का वडाध्यक्ष सुदीप पौडेल, ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, १२ का वडाध्यक्ष ओमप्रकाश पाण्डेय, बुद्धभूमि नगरपालिका–६ का वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका– ८ का वडाध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहलगायतका नेता–कार्यकर्तालाई ओलीले एमाले प्रवेश गरेका थिए ।

उनीहरुलाई अध्यक्ष ओली, पार्टीका उपाध्यक्ष बिष्णु प्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, सचिव टोपबहादुर रायमाझीलगायतले स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया