चितवन । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका वडा नं। ९ कुसुमखोलाका सुकुमबासीका १० छाप्रामा आगो लगाइदिएको छ ।निकुञ्जको क्षेत्र अतिक्रमण गरेर बसेको भन्दै १० परिवार बस्दै आएका छाप्रामा आइतवार दिउँसो निकुञ्जले आगो लगाएको हो । आगलागीबाट सबैजसो छाप्रा जलेर नष्ट भएका छन् ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार कुमुसखोलाका सुकुमबासीहरूलाई अन्यत्रै स्थानान्तरण गरिसकेपछि पनि केही व्यक्तिहरू आएर पुनः छाप्रा हाल्न थालेपछि हटाउने प्रयास गरिएको तर नटेरेपछि आगो लगाइएको बताए ।
त्यहाँ आगो लगाएको फोटो नखिच्न निकुञ्जका अधिकारीहरुले चेतावनी दिएका थिए । हात्तीसहित गएका निकुञ्जका कर्मचारीहरुले कसैले फोटो र भिडियो खिचे कारर्वाही गर्ने बताएका थिए ।गत वर्ष साउन ६ गते यही ठाउँका १० सुकुम्वासीका छाप्रामा निकुञ्जले आगो लगाएर नष्ट गर्दा त्यसले देशभर चर्चा पाएको थियो । कुसुमखोलामा कुनै समय दुई सय घर थिए । यीमध्ये अधिकांश चेपाङहरु छन् ।नगरपालिकाको योजनाअनुरूप यहाँबाट उनीहरुको बस्ती अन्यत्र सार्ने काम भैरहेको थियो । यहाँका सुकुम्वासीहरुलाई नगरपालिकाले वडा नम्बर ९ कै राईडाँडामा र वडा नं।७ को परुईमा सार्ने प्रयास गरिरहेको छ ।
राईगाउँ र परुईमा सोचे अनुसारको नभएपछि केही सुकुम्वासीहरु कुसुमखोलामा नै फर्किन थालेका थिए । कसुम खोलाका चेपाङ समुदायका लागि बनाइएको एकीकृत वस्तीको हालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उदघाटन गरेका थिए ।यसअघि २०५८ सालमा पनि बाँदरझुला र कुसुमखोला बस्तीमा निकुञ्जका कर्मचारीले यसैगरी हात्ती लगाएर घर भत्काउने र आगो लगाउने काम गरेका थिए । सोही बाँदरझुलामा अहिले करिब ५ सय सुकुम्वासीको बस्ती छ ।माडीको भोट बैंकका रुपमा यसलाई लिइन्छ । यहाँको वस्तीलाई लिएर निकै दाउपेच पनि चल्छ । बाँदरझुलामा नगरपालिकाले नै विभिन्न संरचना बनाउन थालिसकेको छ ।