चितवन  । चितवनको रत्ननगरमा एक बर्ष भित्र कक्षा सञ्चालन गर्ने गरी इन्जिनियरिङ कलेज स्थापनाको लागि पोखरा विश्व विद्यालय र रत्ननगर नगरपालिका बीचसंग शुक्रबार सम्झौता भएको छ । सिभिल इन्जिनियरिङ र अन्य इन्जिनियरिङको कक्षा सञ्चालन गर्ने गरी दुई संस्थाबीच सम्झौता भएको हो । पोखरा विश्व विद्यालयका उपकुलपति प्रेमनारायण अर्याल र रत्ननगरका मेयर नारायण वनले सम्झौता पत्रमा हस्ताक्षर गरी एक आपसमा हस्तान्तरण गरेका छन् ।

विद्यार्थी संख्या कम भएर समायोजनमा परेको रत्ननगर १२ जिरौनामा रहेको बाघदेवी आधारभूत विद्यालयको जग्गामा आङ्गिक कलेज सञ्चालन गर्न लागिएको हो । कलेज सञ्चालनको लागि रत्ननगर नगरपालिकाले सार्मथ्यले भ्याय सम्म बजेट उपलब्ध गराउने छ । मेयर वनले कलेजको पूर्वाधार निर्माणको लागि एक करोड रुपैया उपलब्ध गराउने प्रतिबद्धता जनाए । इन्जिनियरिङ कलेज रत्ननगरको गहना हो उनले भने यसको सञ्चालनको लागि सकेसम्म लगानी गर्नेछौं । मेयर वनले आर्थिक अबस्था कमजोर भएका नगरबासीका छोराछोरीलाई इन्जिनियर बनाउन कलेज सञ्चालन गर्न लागिएको बताए ।

टाँडी क्याम्पसलाई सिरानी हालेर रत्ननगरलाई शैक्षिक हब बनाउने आफ्नो योजना सफलता तर्फ उन्मुख रहेको उनको भनाई छ । कार्यक्रममा विश्व विद्यालयका रजिष्टार डा.विनोद भण्डारीले स्थापनाको २५ बर्ष पछि विश्व विद्यालयले पोखरा बाहिर रत्ननगरमा पहिलो पटक रत्ननगरमा आङ्गिक कलेज सञ्चालन गर्न लागेको बताए । आगामी शैक्षिक सत्रबाट रत्ननगरका कक्षा सञ्चालन गर्ने योजनाका साथ विश्व विद्यालय रत्ननगर आएको उनले बताए । एक बर्षमा ८० अर्ब रुपैया शिक्षाको लागि विदेशिने भन्दै उनले यसलाई रोक्न पनि पोखरा बाहिर आङ्गिक कलेज सञ्चालन गर्न लागिएको हो ।

उपकुलपति आचार्यले पोखरा विश्व विद्यालयको इतिहासमै पोखरा बाहिर आङ्गिक कलेज स्थापना गर्न लागिएको भन्दै यसको सञ्चालनको लागि तीनै तहका सरकारको आवश्यकता हुने बताए । आङ्गिक कलेज सधै घाटामा चल्ने विद्यालय हो उनले भने यसको दीर्घकालिन सञ्चालनको लागि सरकारको सहयोग जरुरी रहन्छ । हिम्मत गरेर हामी रत्ननगर आएका छौं उनले भने यो चितवनको विकासको प्रमुख आधारका रुपमा स्थापित हुने छ ।

कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,कार्यदलका संयोजक रामबाबु घिमिरे,शिक्षा समितिका सदस्य तथा कार्यदलका सदस्य विष्णु पौडेल,नगर शिक्षा अधिकारी बद्रिनारायण शर्मा, लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नगर स्तरीय राजनीतिक दलका पदाधिकारी,वडाध्यक्ष,कार्यपालिका सदस्य,शिक्षा समितिका सदस्यहरु,विद्यालयका शिक्षक,व्यवसायीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया