काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बोलाएको भेलाले चुनाव तालमेलको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।नेता पौडेलले आफू पक्षीय केन्द्रीय तथा जिल्ला सभापतिलाई शुक्रबार बिहान आफ्नो निवास बोहोराटारमा छलफलका लागि डाकेका थिए ।सत्ता गठबन्धनबिच स्थानीय तहमा तालमेलको आवश्यकता भए/नभएको छलफल गर्न नेता पौडेलले बैठक डाकेको बाजुरा जिल्ला सभापति रामसिंह रावलले जानकारी दिए ।

‘स्थानीय तहको निर्वाचनमा तालमेल गनुपर्छ भन्ने भएको छ । तालमेल गर्ने अधिकार तल्लो कार्यसमितिलाई नै दिनुपर्छ भनेका छौं’, रावलले  भने, ‘निर्णय केन्द्रबाट लाद्नु भएन । यही सुझाव हामीले उहाँलाई दिऔं ।’

बैठकमा सहभागीले तालमेलको आवश्यकता रहेको सुझाव पौडेललाई दिएका थिए । तालमेल गर्दा स्थानीय आवश्यकता अनुसार हुनुपर्ने सुझाव दिएको रावलले बताए । विधान अनुसार प्राप्त अधिकार तल्लो संरचनाले प्रयोग गर्न पाउनुपर्ने जिल्ला सभापतिहरुले माग राखेका थिए ।

बैठकमा कानुनमन्त्री दिलेन्द्र बडु, केन्द्रीय सदस्यद्वय डा। शशांक कोइराला र दीपक गिरी सहभागी थिए । जिल्ला सभापतिहरुमा रावल सहित तनहुँका जीतप्रकाश आले,पाल्पाका हिमालदत्त श्रेष्ठलगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया