
चितवन – ‘पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ चैत ९ गते बुधवारदेखि चितवनमा हुँदैछ । नेपाल नेपाल कृषि मेसिनेरी व्यवसायी संघको आयोजनामा १२ गतेसम्म प्रदर्शनी हुनेछ । संघले दोस्रो पटक चितवनमा यान्त्रीकरण प्रदर्शनी आयोजना गरेको हो । यस अघि २०७६ सालमा चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी पनि चितवनमा नै आयोजना भएको थियो ।
नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, आधुनिकीकरण, व्यवसायीकरण, तथा औद्योगिकरण गर्न प्रदर्शनी आयोजना गरिएको संघका अध्यक्ष खोजराज कटुवालले बताए । प्रदर्शनीमा बिभिन्न २० भन्दा बढी राष्ट्रबाट कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिका ५२ प्रदर्शनकर्ताहरु सहभागी हुने उनले बताए । आधुनिक कृषि, पशुपालन, मत्स्य पालन, पुष्प तथा तरकारी खेती, प्रशोधन तथा बजारीकरण सम्बन्धी यन्त्र, उपकरण, बिउ बिजन तथा आधुनिक सिँचाईलगयातका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका कम्पनीहरु सहभागी हुनेछन् ।
चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा हुने दुई सय भन्दा बढी प्रकारका उपकरण तथा प्रविधिहरु प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीमा कृषि सम्बन्धी आधुनिक प्रविधि, औजार, उपकरण, यन्त्रका बिषयमा जानकारी दिईनेछ । प्रदर्शनीमा नीती निर्माण, पेशागत समूह, अनुसन्धानकर्ता, कृषकलगायत सरोकारवालाहरुलाई कृषि यन्त्र र प्रविधि बारे जानकारी दिईने संघका अध्यक्ष कटुवालले बताए ।