×

हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दो खेलको उद्घाटन भएको छ । खेल संयोजक माधव कोइरालाको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख अतिथ्यतामा तेक्वान्दो खेलको सुरुवात भएको हो ।

कार्यक्रममा परिषदका सखस्य सचिव सुर्यलाल भण्डारी, सदस्यहरु माधव तिमल्सिना, हिक्मत थपलिया, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन श्रेष्ठ, जिल्ला तेक्वान्दो संघ मकवानपुरका अध्यक्ष लालकाजीरत्न बज्रचार्य लगायतको आतिथ्यता रहेको थियो ।सोमबार सम्म सञ्चालन हुने खेलमा आज ५३ केजी मुनीको महिला तर्फ धादिङको प्रतिका तामाङलाई हराउदैं सिन्धुपाल्चोककी अन्जली तामाङ फाइनल प्रवेश गरेकी छिन् भने दोलखाका अनुका जिरेललाई हराउदैं काठमाडौंकी रमिला रोक्का फाइनल प्रवेश गरेकी छिन् ।

त्यस्तै, ५४ केजी मुनीको पुरुषतर्फ मकवानपुरका विप्लव वाईवालाई हराउदैं काभ्रेका रोशन केसी फाइनल प्रवेश गरेका छन् भने भक्तपुरका सञ्जय लामालाई हराउदैं दोलखाका रोशन खत्री फाइनल प्रवेश गरेको खेल संयोजक माधव कोइरालाले बताउनुभयो । उहाँले विभिन्न चरणहरुका खेल खेलाउदैं फाइनल प्रवेश गरेको बताउनुभयो । बाकीँ खेल आइतबार हुनेछ ।

हेटौंडामा भोली आइतबार मकवानपुर र ललितपुरबीच फुटबलको फाइनल प्रतिस्पर्धा हुदैं छ । हेटौंडाको क्याम्पा रंगशालामा दिउँसो फाइनल खेल हुने खेल संयोजक कल्पना शर्माले बताउनुभयो ।

क्रिकेटमा धादिङ र चितवन सेमीफाइनल प्रवेश

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुष तर्फको जारी क्रिकेट खेलमा धादिङ र चितवन सेमीफाइनल प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा टस जितेर ब्याटिङ राजेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाउदैं १८१ रन बनाएको थियो । धादिङले रनको लक्ष्य पुग्न १९ ओभरमा ६ विकेट गुमाउदैं १८३ रन बनाइ सेमीफाइनल यात्रा तय गरेको छ । सोमबार हुने सेमीफाइनलमा धादिङले काभ्रेसँग खेल्नेछ ।

त्यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले १० विकेट गुमाउदैं १९.५ ओभरमा २१७ रन बनाएको थियो । नुवाकोटले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनाएको थियो । चितवन १०४ रनले विजयी भएको छ । विजयी सँगै भोली मकवानपुरसँग सेमीफाइनल खेल खेल्ने खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताउनुभयो । आइतबार दुई सेमीफाइनल खेल हुनेछ । पहिलो खेल मकवानपुर र चितवन तथा दोस्रो खेल काभ्रे र धादिङबीच हुने क्षेत्रीले बताउनुभयो । प्रतियोगितामा सिन्धुलीले सहभागिता जनाएको छैन् ।

काठमाडौंमा भोलीबाट एथलेटिक्स प्रतियोगिता हुनेछ । खेलको लागि सम्पूर्ण तयारी पुरा भएको खेल संयोजक आरके विष्टले बताउनुभयो । खेल दशरथ रंगशालामा हुनेछ । सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काभ्रेमा चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने परिषद् सदस्य सचिव सुर्यलाल भण्डारीले बताउनुभयो ।

प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

तपाईको प्रतिक्रिया