×

काठमाडौं । बुधवार इण्डियन आयल कर्पोरेसन  बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि नेपाल आयल निगम विकास निर्माणका काम रोक्ने स्थितिमा पुगेको छ।फागुनमा मात्रै २८ अर्ब रुपैयाँ नोक्सानाी बेहोरेको जानकारी गराएको निगमले घाटा थप चुलिने भएकाले विकास निर्माणका काम रोक्न लागेको हो ।

पछिल्लो समय घाटा बढ्दै गएपछि निगमसँग भएको सञ्चिति कोषबाट समेत आइओसीलाई भुक्तानी गर्ने दायित्व बढेको र निगमको सञ्चिति कोषको रकम समेत घट्न थालेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हाल निगमको घाटा निरन्तर उकालो लागेको र सञ्चिति रकम समेत रित्तिँदै गएकाले तत्काल विकास निर्माणका कार्य स्थगित गर्ने सोचमा निगम पुगेको निगमले उल्लेख गरेको छ ।निगमका प्रवक्ता विनितमणि उपाध्यायले अमलेखगञ्जदेखि चितवनसम्म निर्माण गरिने भनिएको पेट्रोलियम पाइपलाइनको काम तत्कालका लागि अघि नबढ्ने बताए।

‘निगमले नयाँ बनाउने योजनामा रहेका संरचना निर्माणको काम तत्काल अघि नबढाउने भनेको हो’, निगम प्रवक्ता उपाध्यायले भने, ‘जस्तै दोस्रो चरणको पेट्रोलियम पाइपलाइन, सिलगुडीदेखि ल्याउने भनेका पाइपलाइन निर्माणका कार्यहरु भन्ने होला ।’

पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै गइरहेको, निगमको विक्री मूल्यको तुलनामा खरीद लागत बढी रहेकाले घाटा बेहोरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आईओसी बाट बुधवार आएको नयाँ मूल्यसूची अनुसार निगमले पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा बढेर आएको छ ।

उक्त मूल्यसूची अनुसार पेट्रोल खरीदको मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा परिरहेको निगमको भनाइ छ । यसअघि गत १९ फागुनमा निर्धारण गरिएको मूल्य अनुसार हाल पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ रहेको छ ।

त्यस्तै डिजेलको मूल्य प्रतिलिटर २४ रुपैयाँ ४९ पैसाले बढेर आएको निगमले जानकारी दिएको छ । डिजलेको खरिद लागत १६९ रुपैयाँ ४४ पैसा पर्ने निगमले जानकारी दिएको छ । फागुन १९ मा तोकिएको मूल्य अनुसार डिजेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर रहेको छ । डिजेल, पेट्रोल खाना पकाउने एलपी ग्यासमा बेहोरिरहेको नोक्सानी अनुसार आगामी दुई सातामा ५ अर्ब ३० करोड रुपैयाँ नोक्सानीमा जाने प्रक्षेपण निगमले गरेको छ ।

पछिल्लो समय निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद नियुक्त भएका छन् । गत बिहीवार मन्त्रीपषिदको बैठकले नियुक्त गरेका थानीले शुक्रवारदेखि कार्यभार सम्हालेका छन्। बुधवार आइओसीबाट आएको नयाँ मूल्यसूची निगममा थानी आएपछि पहिलो पटक आएको हो ।

तपाईको प्रतिक्रिया