×

गैंडाकोट । लालपुर्जाको माग गर्दै गैंडाकोटमा राष्ट्रिय भूमि अधिकार मञ्च नवलपुर जिल्ला समितिले ऱ्याली प्रदर्शन गरेको छ । गैंडाकोटको श्रीराम पार्टी प्यालेसबाट निस्किएको प्ले कार्ड र व्यानर सहितको ऱ्यालीले नगरपालिका परिसरमा पुगेर कोणसभा गरेको थियो । स्थानिय चुनाव नजिकिंदै गर्दा जिल्लाका भूमिहिन सुकुम्बासीहरुले आफ्नो गतिविधि तिब्र पारेका छन । ऱ्यालिमा सहभागिहरुले ’चोरी दर्ता बन्द गर, पहिला पूर्जा-पछि भोट, सुकुम्वासी समस्या समाधान गर, सुकुम्बासी आयोग चालु गर र सुरक्षित घरबास सबैलाई’ जस्ता नाराहरू सहित ‘जबरजस्ती उठीबास बन्द गर, पहिला पुर्जा-पछि भोट, भूमि समस्या समाधान गर र रगत पसिना बगायौं-बद्लामा के पायौं’ जस्ता नारा लगाएका थिए । थुप्रै संख्यामा आएको ऱ्यालिले नगरपालिका हाताभित्र समेत धेरै बेर आफ्ना मागहरु सहितका नारा लगाएका थिए ।

नारा र जुलुस पछि कोणसभामा परिणत भएको ऱ्यालिका सहभागिहरुले नगरप्रमुख छत्रराज पौडेललाई ज्ञापनपत्र समेत बुझाएको थियो । मञ्चकी अध्यक्ष मनरुपा कुमाल र माझी वोटे कल्याण सेवा समितिका अध्यक्ष जितबहादुर माझीले नगर प्रमुखलाई विभिन्न माग राखी ज्ञापन पत्र बुझाउनुभएको थियो ।

ज्ञापन पत्रमा लामो समयदेखि बसोबास गर्दै आएको जग्गामा आफ्नो स्वामित्वको सुरक्षा अनुभूति गर्न नपाएको विभेदपूणर् अवस्थाका कारण आत्मासम्मान र स्वाभिमानपूणर् जीवनयापन गर्न नसकिएको व्यहोरा उल्लेख गरिएको छ ।ज्ञापन पत्र बुझ्दै नगर प्रमुख पौडेलले सुरुदेखि नै आफू भूमिहिन सुकुम्बासीको पक्षमा रहेको बताउनुभयो । सुकुम्बासीको समस्या समाधान गर्ने अधिकार संघीय सरकारको भएको बताउँदै नगरप्रमुख पौडेलले यदि यो अधिकार स्थानिय सरकारलाई दिइन्छ भने आफुले १० दिन भित्र अठार वटै वडाका सुकुम्बासीहरुलाई लालपुर्जा दिन सक्ने दावी समेत गर्नुभयो ।

कोणसभामा आफ्ना भनाईहरु राख्दै मञ्चकी अध्यक्ष मनरुपा कुमालले सुकुम्बासीका समस्या समाधान नभए आगामी दिनहरुमा आफूहरुले स्थानिय सरकारलाई सहज रुपले काम गर्न नदिने बताउनुभयो । कोणसभालाई राष्ट्रिय भूमि अधिकार मञ्चका आधादर्जन बढी अगुवाहरुले पनि सम्बोधन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया