×

चितवन । उद्योग वाणिज्य संघ चितवनको आसन्न अधिवेशनका लागि पाँच जनाले संयुक्त रुपमा उमेदवारी घोषणा गरेका छन् । संघको ५५औं वार्षिक साधारण सभा तथा अधिवेशनको पूर्व सन्ध्यामा बुधबार पत्रकार सम्मेलन मार्फत पाँच जनाले उमेदवारी घोषणा गरेका हुन् ।उमेदवारी घाेषणा गर्नेहरुमा चुननारायण श्रेष्ठ अध्यक्ष, सुमनकुमार श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदहरु क्रमशः चिरञ्जिवी सुवेदी, भोजराज कौडाल र शंकर नेपाल रहेका छन् ।

अध्यक्ष पदका उमेदवार श्रेष्ठले व्यवसायिक हकहितको संरक्षण, नीतिगत तहमा बहस पैरवी, समग्र चितवनको सामाजिक, आर्थिक विकासको लागि उमेदवारी दिएको बताए ।संस्थाको नेतृत्व चयन गर्दा संस्थामा आवद्ध सदस्यहरुको भावनालाई प्रतिनिधित्व गर्न सक्ने र नेतृत्वको लागि संस्थाको ज्ञान, संस्थामा आवद्ध भई गरेका कार्यहरुबाट प्राप्त सिप र अनुभवको ठूलो भूमिका हुने श्रेष्ठले प्रष्ट्याए ।

संघको साधारण सभादेखि वरिष्ठ उपाध्यक्ष पदमा आउँदासम्म विभिन्न ओहदामा रही योग्यता र क्षमताले भ्याएसम्म संस्थालाई योगदान दिँदै आएको उनको भनाइ थियो ।संस्थाको गरिमा र प्रतिष्ठामा आँच नआउने गरी सामूहिक भावनाले अभिप्रेरित भई सदस्यहरुको भावनालाई सम्मान गर्दै संयुक्त रुपमा उमेदवारी दिएको श्रेष्ठले बताए । सम्पूर्ण मतदाता, उद्योगी व्यवसायीहरु लगायत सबैलाई अत्यधिक मतले विजयी गराई दिनु हुन पनि उनले अपिल गरे ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका उमेदवार सुमनकुमार श्रेष्ठ तथा उपाध्यक्ष पदहरुका चिरञ्जिवी सुवेदी, भोजराज कौडाल र शंकर नेपालले संघमा आवद्ध भएदेखि हालसम्मको अनुभवहरु बताए ।संघको मतदान प्रक्रिया फागुन ३० गते बिहान ८ बजेदेखि ५ बजेसम्म हुँदैछ भने अधिवेशनले आगामी २०७८ देखि ०८० सम्म दुई वर्षका लागि समिति चयन गर्दैछ ।संघको विधान बमोजिम प्रत्येक २ वर्षमा निर्वाचन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया